धौलागिरी लघुवित्तको नाफामा भारी गिरावट, कस्ता छन् अन्य सूचक ?

२२ कार्तिक २०८०, बुधबार १२:३४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा २ करोड ९ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले ३९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले २ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर ७७ लाख ९० हजार रुपैयाँमा सिमित भएको हो ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवमा १२ लाख ४५ हजार रुपैयाँ धनात्मक रहेकोमा चालू आवमा २ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा ७ करोड ८८ लाख रुपैयाँ सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ सापटी लिएर ७० करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ८२ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*