वाणिज्य बैंकहरुमा सस्तिँदै कर्जाको व्याजदर

२३ कार्तिक २०८०, बिहीबार ११:३८

काठमाडौं । वाणिज्य बैंकहरुमा कर्जाको व्याजदर सस्तो हुन थालेको छ । अर्थतन्त्रको वाह्य क्षेत्रमा आइरहेको सुधार र विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्सको बढोत्तरीले बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको पर्याप्तता बढेसँगै व्याजदर सस्तिँन थालेको हो । राष्ट्र बैंकको तथ्याङक अनुसार निक्षेपमा उल्लेख्य वृद्धि हुँदै जाँदा कर्जा सस्तिँदै गएको हो । निक्षेपमा व्याजदर बढेमा आधारदर समेत बढ्ने गर्छ भने घटेका खण्डमा आधारदर समेत कम हुने गर्दछ ।

बैंकहरुले असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा १०.२६ प्रतिशत र संस्थागत निक्षेपमा औसत ८.१८ प्रतिशत व्याजदर कायम गरेको थियो । कार्तिकमा भने व्यक्तिगत निक्षेपमा औसत ९.९६ प्रतिशत र संस्थागत निक्षेपमा औसत ७.८५ प्रतिशत व्याजदर तोकेका छन् । महँगो व्याजदरमा मुद्दती कायम रहेका निक्षेपहरुको समेत नवीकरण हुँदा अहिले आधार दर घट्दो क्रममा छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २० वटा वाणिज्य बैंकहरुमध्ये ९ वटा बैंकहरुको आधार दर एकल विन्दुमा आइपुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, एभरेष्ट, सानिमा, एनएमबी र नेपाल इन्भेष्टभेन्ट मेगा बैंकको आधार दल एकल विन्दुमा आइपुगेको हो । सबैभन्दा बढी आधारदर घट्नेमा सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड छन् । स्ट्यान्डर्डको आधारदर सबैभन्दा कम ८.४२ प्रतिशत छ । १२ बैंकको आधारदर अझै १० प्रतिशत भन्दामाथि छ । सबैभन्दा धेरै आधारदर हुनेमा लक्ष्मी सनराइज, हिमालयन र कुमारी बैंक छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी अहिले विगतमा जस्तो उच्च व्याजदर भन्ने अवस्था नरहेको बताउँछन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले समेत व्याजदर स्थिर राखेको अवस्था रहेकाले तत्काललाई व्याजदर नबढ्ने संकेत पाइएको उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*