विमानस्थलबाट उठ्ने फोहोरमा लुकाएर सुन तस्करी, ‘कहिले फोहोरको गाडीमा कालोपुल पुग्छ, कहिले डस्टबिन उठाउनेबाट लिइन्छ’

२२ मंसिर २०८०, शुक्रबार १६:२३

काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुन तस्करी गर्ने नयाँ तरिका र रुटबारे एकपछि अर्को तथ्य खुल्न थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले केही समयअघि तस्करीको सुन ढलौट कारखाना लगेर लोटा, कचौरा तथा विभिन्न सामग्री बनाएर पशुपतिनाथमा चढाउने र भारतीय मूलका नागरिकलाई उपहार स्वरुप दिएर निकासी पैठारी गर्ने गरेको रहस्य खोलेको थियो ।

यस्तै, केही समय पहिले त्रिभुवन विमानस्थलकै एक उच्च अधिकारीले हवाइजहाजबाट निस्कने फोहोर र विमानस्थलभित्र तथा परिसरको फोहोरमा सुन लुकाएर पछाडिको बाटो हुँदै सुन तस्करी गर्ने गरिएको रहस्य खोलेका थिए ।

उनका अनुसार त्रिभुवन विमानस्थलको फोहोर बोकेको गाडी गुह्येश्वरीपट्टीको गेटबाट छिराएर एकैपल्ट कालो पुल निकालिन्थ्यो । त्यो फोहोरमा लट्पटाएको सुन उतै पुगेर लिने गरेको रहस्य समेत भेटिएको बताएका ति उच्च अधिकारी सुनकाण्ड मौलाउनु पहिल्यै सरुवा भइसकेका छन् ।

ती अधिकारीले विमानस्थल परिसरमै हिमालयन एयरलाइन्सको आफ्नै निजी कार्गो गोदाम रहेको समेत सुराक दिएका छन् । जुन हिमालयन एयरलाइन्सलाई शक्तिकेन्द्रको पहुँचका आधारमा दिइएको बताइन्छ । अर्कोतिर विमानस्थलको धावनमार्गसम्मै पहुँच राख्ने नेपाल आयल निगमका ट्याङ्करहरु समेत विनारोकटोक ओहोरदोहोर गर्छन्, उनीहरुमाथि कसैले निगरानी राख्दैन ।

बिहीबार राती गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेपछि यस्ता गतिविधिको थप रहस्योदघाटन भएको छ । विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेका अनुसार सुन तस्करीबारे पहिल्यै सुराक आइसकेको थियो । त्यसैको आधारमा वुधबार र बिहीबार अप्रेसन जारी राखिएको र चन्द्र घलेलाई विमानबाट ओर्लने वित्तिकै पक्राउ गरेको डा. पाण्डेले बताए । ‘उनलाई विमानबाट ओर्लनेवित्तिकै वाक थ्रुमा नसमातेको भए सुन जे पनि हुनसक्थ्यो’, पाण्डेले भनेका छन् ।

यस्तै, प्रहरीलाई लिएको बयान अनुसार चन्द्रले आगमन कक्षको डस्टबिनमा सुनसहितको ज्याकेट फालेर पछि फोहोर उठाउनेसँग लिने योजना रहेको बताइएको छ । चन्द्रले सुन मीनबहादुर घलेको हो भनेपछि म्यानपावर व्यवसायी मीनबहादुर पनि पक्राउ परेका छन् । चन्द्र र मीनबहादुर दुबैको घर गोरखाको बारपाक हो ।

आगमन कक्षको फोहोर उठाइदिने व्यक्ति को हुन् ? भन्नेबारे केही नबताएपछि त्यस विषयमा पनि अनुसन्धान अघि बढाइएको अधिकारीहरुले बताएका छन् । प्रहरीका अनुसार मीनबहादुरले यसअघि फोहोर उठाउने व्यक्तिसँग यसरी नै पटक-पटक सुन लिएको बयान चन्द्रले दिएका छन् । योसँगै विमानस्थलबाट उठ्ने फोहोरमा लुकाएर सुन तस्करी हुने गरेको तथ्य थप उजागर भएको छ ।

2 thoughts on “विमानस्थलबाट उठ्ने फोहोरमा लुकाएर सुन तस्करी, ‘कहिले फोहोरको गाडीमा कालोपुल पुग्छ, कहिले डस्टबिन उठाउनेबाट लिइन्छ’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*