विमानस्थल ‘बबाल काण्ड’को केन्द्रविन्दुमा बीमापोष्ट : निजी सुरक्षागार्ड हटाएर सशस्त्र प्रहरी राख्दा भयो यस्तो बबाल

१४ माघ २०८०, आईतवार १७:०५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पछि अर्को कडाइ हुँदै गएपछि बबाल मच्चिएको छ । यो बबालको केन्द्रविन्दुमा छ, बीमापोष्ट डटकम । बीमापोष्टमा लगातार समाचार आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस यता मात्रै तीन ठूला कडाई भइसकेका छन् ।

असोज महिनाबाट लगातार बीमापोष्टमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने सुन तस्करीका पछाडि भन्सार जाँचपास प्रमुख कारण रहेको समाचार प्रकाशित भएको थियो । जहाँ आगमन (अराइभल) र भन्सार जाँचपास निजी सेक्युरिटी कम्पनीको जिम्मामा थियो । ‘वाक थ्रु’मै १४ किलो सुन सहित गोरखा बारपाकका चन्द्र घले पक्राउ परेपछि बीमापोष्टले असोजदेखि उठाउँदै आएको तथ्य शतप्रतिशत सत्य सावित भएको थियो ।

जुन ठाउँमा निजी सेक्युरिटी कम्पनी (स्टार फोर्स)का सुरक्षा गार्डले चेकजाँच गरिरहेका थिए । यो माघदेखि त्यो ठाउँमा शसस्त्र प्रहरीले चेकजाँच गर्छ । अहिले ३ सिफ्टमा झण्डै ३० जना सशस्त्रले कडा सुरक्षा जाँच गरिरहेका त्रिभुवन विमानस्थल भन्सारका प्रवक्ता गगन बहादुर बिकेले बीमापोष्टलाई बताए ।

उनका अनुसार पहिले जनपथ प्रहरी १० मिटर टाढाबाट हेरेर बस्नुपर्ने र निजी कम्पनीका सेक्युरिटी गार्डले जाँचपास गर्थे । अहिले ती सेक्युरिटीले ट्रली र ट्रेहरु ओसार्ने काम गर्छन् । सुरक्षा जाँच पूर्णरुपमा सशस्त्रको नियन्त्रणमा छ । व्यागेज र लगेज स्क्यान गर्ने ठाउँमा पनि निगरानी बढाइएको प्रवक्ता बिकेले बताए ।

अर्कोतर्फ विमानस्थलमा धानवमार्ग नजिकै लगेर निजी सवारी साधन पार्किङ गर्न नपाइने नियम लागू गरिएको छ भने भिजिट भिसामा विदेश जानेहरुका लागि पनि नयाँ नियम लागू भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसहित ६ बुँदे नयाँ नियम लागू गरेको हो ।

हेर्नुस् नयाँ नियम

भन्सार र अध्यागमन दुबैतर्फ कडाई गरिएपछि विमानस्थलबाट सुन तस्करी र मानव बेचविखनमा सेटिङ मिलाउने गिरोहको निद्रा खल्बलिएको छ । विमानस्थल अध्यागमन कार्यालयका एक पूर्व अधिकारीका अनुसार ६ बुँदे लागू भएसँगै विमानस्थलमा सेटिङ गरेर मानव तस्करी गर्ने गिरोह र सेटिङमा संलग्न हुने अध्यागमन तथा प्रहरी अधिकारीहरुको निद्रा खल्बलिएको हो ।

यसअघि भिजिट भिसामा जान खुकुलो प्रावधान थियो भने जम्मा २०० डलर नगद सटही भए पुग्ने गरेको थियो । अब त्यो ५०० डलर भएको छ । त्यति मात्र नभइ स्वघोषणाःसहितका प्रमाणहरु जुटाउनु भएपछि गिरोहलाई अफ्ठेरो पर्ने भएको छ । सञ्चारमाध्यम कै कारण आफुहरु अफ्ठेरोमा परेको भन्दै विमानस्थलमा खटिएको गिरोह तथा सेटिङवाल कर्मचारीहरु पत्रकार एवं संचारकर्मीसमेतलाई धक्याउन थालेका छन् ।

सेटिङ र कमिसन धन्दामा धक्का लागेसँगै शुक्रबार वाकथ्रु मै अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो । त्यसरी आक्रमणमा उत्रिने अध्यागमन अधिकारी सेटिङ मिलाउने गिरोहमा संलग्न भएको र जसकारण उनले नसिहत पाएको तथ्यसमेत भेटिएको छ । सेटिङ नमिलेका खण्डमा उनले सेवाग्राहीसमेतलाई हातपात गर्ने गरेको रहस्य खुलेको छ । भिजिट भिसामा विदेश जानेहरुको जानकारी वाट्सएप, भाइभरमा आएको भेटेपछि यो समूहका केही सदस्यलाई जिम्मेवारीबाट हटाइएको जानकारी समेत बीमापोष्टलाई प्राप्त भएको छ ।

त्यसरी फेक डकुमेन्ट बनाउने गिरोहमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायतमा पहिले काम गरेका वा त्यहाँबाट रिटायर्ड भएकाहरु नै संलग्न रहेको रहस्य समेत पत्ता लागेको छ । उनीहरुकै सहजीकरणमा गिरोहले फर्जी कागजात बनाउनेदेखि विमानस्थलमा बोर्डिङ पास गराउनेसम्मका काम हुने गरेको छ । बीमापोष्टको निरन्तर खोजले यी गतिविधि नियन्त्रणमा सघाएको छ ।

सम्बन्धित समाचार

विमानस्थल कुटाकुट प्रकरण : सुरुमा प्रहरीलाई हान्ने मोक्तानले यसअघि सेवाग्राहीलाई गरेका थिए हातपात, सुन तस्करसँग पनि साँठगाँठ

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट, चेक गरेको निहुँमा सुरु प्रहरी कुट्ने अध्यागमनका कर्मचारी

बीमापोष्ट समाचार प्रभाव : त्रिभुवन विमानस्थल भन्सार जाँच पासबाट हटे स्टार फोर्सका सेक्युरिटी गार्ड, सशस्त्रलाई जिम्मा

‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

विमानस्थलबाट उठ्ने फोहोरमा लुकाएर सुन तस्करी, ‘कहिले फोहोरको गाडीमा कालोपुल पुग्छ, कहिले डस्टबिन उठाउनेबाट लिइन्छ’

One thought on “विमानस्थल ‘बबाल काण्ड’को केन्द्रविन्दुमा बीमापोष्ट : निजी सुरक्षागार्ड हटाएर सशस्त्र प्रहरी राख्दा भयो यस्तो बबाल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*