विदेशी विनिमयको कारोबार गर्न बैंकहरुले एकपल्ट लाइसेन्स लिए पुग्ने, नवीकरण गर्नु नपर्ने

२५ मंसिर २०८०, सोमबार १५:२५

काठमाडौं । बैंकहरुले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत लिएपछि नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को दोस्रो संशोधनमा यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब बैंकले एकपटक विदेशी विनिमयको कारोबार गर्न अनुमतिपत्र लिएपछि हरेक पाँच वर्षमा नवीकरण गरिरहनु परेन । बैंक तथा वित्तीय संस्थाहरुको एक्सटेन्सन काउण्टरबाट पनि विदेशी विनिमयको कारोबार गर्न सकिने सुविधा पनि राष्ट्र बैंकले थप गरेको छ ।

यसअघि एकमुष्ठ प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखा कार्यालयबाट मात्रै विदेशी विनियमयको कारोबार गर्न पाउने व्यवस्था थियो । होटल, रिसोर्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, कार्गो कम्पनी, ट्रेकिङ एजेन्सी लगायत कम्पनीहरुले समेत विदेशी विनिमय कारोबारको लागि पाउने इजाजतपत्रको अवधि बढाइएको छ ।

विदेशी पर्यटक तथा ऐन बमोजिम विदेशी विनिमयमा भुक्तानी गर्न सक्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वस्तु तथा सेवा बिक्रीबापत विदेशी विनिमयमा हुने भुक्तानी स्वीकार गर्न ती कम्पनीलाई विदेशी विनिमय कारोबारको लागि बढीमा पाँच वर्षको इजाजत दिइने बताइएको छ । यसअघि तीन वर्षको लागि मात्रै इजाजत दिने व्यवस्था थियो ।

क्षेत्रीय स्तरका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा अनुमतिपत्रका लागि आवेदन दिनसक्ने भएका छन् । राष्ट्र बैंकले विनियमावली संशोधन गरी प्रादेशिक कार्यालयलाई अधिकार प्रत्यायोजन समेत गरेको छ ।

क्यासिनोले भने विदेशी विनिमयको कारोबार गर्न नेपाल सरकारको इजाजत पाएको वा नवीकरण भएको हुनुपर्ने भनिएको छ । क्यासिनोले विदेशी विनिमय कारोबार अनुमति पाउन नेपाल सरकारको सम्बन्धित निकायबाट नियमानुसार अनुमति–इजाजतप्राप्त गरेको तथा नवीकरण समेत हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*