नेप्सेद्वारा मुक्तिनाथ विकास बैंकको सेयर कारोबार स्थगित

६ पुष २०८०, शुक्रबार १२:३८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सूचीकरण स्थगित गरेको छ । कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरेपछि नेप्सेले बैंकको सुचीकरण स्थगित गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले पुस ५ गते बिहीबार दिउँसो २ः३० बजे कारोबार समयमै सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर बैंकले उक्त विनियमको व्यवस्था पालना नगरेको भन्दै नेप्सेले उक्त विनियमावलीको १६(१)(ख) को व्यवस्था बमोजिम धितोपत्र कारोबार स्थगन गरि अबको तीन कार्यदिन भित्र के कति कारणले कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरिएको हो भन्ने स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*