बीमितकै जोखिम नव्यहोर्ने सुर्यज्योति लाइफको शर्त, प्राधिकरणको सामान्य त्रुटीमा टेकेर ठगीधन्दा चलाउँदै

९ पुष २०८०, सोमबार १४:३६

काठमाडौं । सुर्यज्योति लाइफले बीमिति बालबालिकाको बीमा गर्ने तर जोखिम बहन नगर्ने शर्त राखेर बाल बीमा पोलिसी बिक्री वितरण गर्दै आइरहेको छ । बीमापोष्टले सुर्यज्योति लाइफको ठगीधन्दाको विषयमा समाचार प्रकाशित गरेपछि सिंगो बीमा क्षेत्रमा चर्को बहस भइरहेको छ । सुर्यज्योति लाइफका अभिकर्ता र कर्मचारीले बीमापोष्टका विरुद्धमा तथानाम गाली गर्दै कमेन्टहरु पनि लेखिरहेका छन् ।

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको जोखिम रक्षावरण २५ प्रतिशत मात्रै हुने शर्त राखेर बाल बीमा पोलिसी बिक्री जारी नै राखेको छ । बीमापोष्टमा समाचार प्रकाशित भएपछि चर्को आलोचना आइरहेको विषय थियो, ‘पोलिसी बीमा प्राधिकरणबाटै स्वीकृत भएको थियो’, हो सुर्यज्योति लाइफले जनता ठगी गर्दै आएको पोलिसी बीमा प्राधिकरणबाटै स्वीकृत गरेको देखिएको छ ।

खासमा बीमा प्राधिकरणको सामान्य त्रुटी भएको रहेछ । बाल बीमा पोलिसी सम्बन्धी निर्देशिका दफा ५ (४) सँग सम्बन्धित अनुसूचिको बुँदा ४ मा बीमित बालबालिकाको मृत्यु भएमा २५ प्रतिशत बीमाङ्क वा बीमा शुल्क जुन बढि हुन्छ सो भुक्तानी गर्ने भन्ने छ । सो बुँदामा बाँकी ७५ प्रतिशत बीमाङ्क रकम बीमा अवधी पुरा भएपछि भुक्तानी भन्ने वाक्य छुटेको रहेछ । बीमा प्राधिकरण स्रोत भन्छ ‘छुटेको रहेछ, हामी हेर्दैछौं ।’

तर, आफूलाई ‘प्रोफेशनल’ मात्रै भन्न रुचाउने सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापक, बीमालेख बनाउने कर्मचारी र सिईओ समेतले सोही त्रुटीमा टेकेर बीमा पोलिसी बिक्री गरी ठगी गर्ने भन्ने गलत नियत साथ काम गरिरहेको भेटिएको छ । बीमा प्राधिकरणका उच्च अधिकारी भन्छन्, ‘बीमितको जोखिम रक्षावरण नहुने भन्ने कुरै हुँदैन, त्यसमा हामी हेर्छौं ।’ बाल बीमा पोलिसी सम्बन्धी काम गरेका उच्च अधिकारीले पनि सामान्य त्रुटी भएको स्वीकार गर्दै भने, ‘एउटा वाक्य छुटेछ, बीमा कम्पनीहरुले विस्तृतमा पोलिसी बनाउँदा ध्यान दिनुपर्थ्यो ।’

 

कम्पनीले यस अवधीमा सुनौलो भविष्य नामक बाल बीमा पोलिसी सयौं बिक्री गरिसकेको छ । बीमा क्षेत्रमा बुझेका केही बीमा अभिकर्ताहरुले यस विषयमा कन्सर्न पनि कम्पनीमा नराखेका होइनन् । तर कम्पनीले चासो नदिएको गुनासो छ । बीमा बुझेका एक अभिकर्ताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, मैले सुरुमा नै देखेको थिए, बीमितिकै जोखिम रक्षावरण नगर्ने बीमा पोलिसी मैले बिक्री गरेको छैन ।’

उता, सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भने बीमा प्राधिकरणको निर्देशिका बमोजिम उक्त बाल बीमा पोलिसी बिक्री गरेको दावी गरेको छ । कम्पनीका सूचना अधिकारी उमेश मैनालीले भने, ‘हामीले बीमा प्राधिकरणबाटै स्वीकृत गराएर बाल बीमा पोलिसी बिक्री गरेका हौं, हामी आफैले बनाएको पोलिसी होइन ।’ कम्पनीले बाल बीमा पोलिसीमा बीमिति बालबालिकाको निधन भएका २५ प्रतिशत वा तिरेको बीमा शुल्क जुन बढि हुन्छ त्यति मात्रै बीमा दावी भुक्तानी पाउने स्वीकार गरेको छ । साथै कम्पनीले प्रस्तावक आमा वा बाबु जो छ, उसको शतप्रतिशत जोखिम रक्षावरण गरिएको समेत स्पष्ट पारेको छ ।

बीमाको मूल सिद्धान्त नै जोखिमका रक्षावरण भएकोले बीमितकै जोखिम रक्षावरण नहुने बीमा पोलिसी नियामक होस् वा बीमा कम्पनी जो सुकैबाट भएपनि त्रुटीपूर्ण हुने विश्लेषकहरुको भनाई छ ।

 

 

सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम बहन नगर्ने बाल बीमा पोलिसी बिक्री गरेर ठगी गर्दै

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*