माथिल्लो तामाकोशी जलविद्युतको लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने प्रकृया आजदेखि सुरु, अन्तिम नतिजा कहिले आँउला ?

तल्लो मूल्यमा आवेदन दिएकाहरुले सेयर पाउने सम्भावना न्युन
५ माघ २०८०, शुक्रबार १६:०२

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने प्रकृया आजदेखि सुरु भएको छ। कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबार बिहान कार्यालय समयदेखि लिलामीको बोलकबोल खुल्ला गर्ने प्रकेया सुरु भएको हो ।

आज दिउँसो १ बजेसम्ममा ३ हजार हाराहारी बोलकबोलहरु खोलिएको छ । उसका अनुसार ३० हजारभन्दा बढी आवेदन परेको छ । सबै आवेदन शनिबार साँझसम्ममा खोल्ने क्यापिटलको योजना छ । शुक्रबार ३ घण्टामा ३ हजारभन्दा कम आवेदन खुल्ला गरिएको रफ्तारले ३० हजार आवेदन खोल्न ३० घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ । यद्यपी क्यापिटलले काउण्टर थप गरेर निर्धारित समयमा बोलकबोल खोल्न सक्छ ।

सर्वसाधारणले नै २ अर्ब हाराहारीको सेयर आवेदन गरेकोमा अन्तिम दिनमा संस्थागत लगानीकर्ताले माथिल्लो मूल्यमा सेयर लिलामीमा आवेदन गरेका छन् । यता दोस्रो बजारमा बोलकबोल खोल्ने समय नजिकिएसँगै कम्पनीको सेयर मूल्य तिब्र गतिमा बढेको छ । यो अवस्थामा तल्लो मूल्यमा आवेदन दिएकाहरुले सेयर पाउने सम्भावना न्युन देखिएको छ ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि लिलामीबाट बिक्री गरेको हो । उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*