विमानस्थल कुटाकुट प्रकरण : सुरुमा प्रहरीलाई हान्ने मोक्तानले यसअघि सेवाग्राहीलाई गरेका थिए हातपात, सुन तस्करसँग पनि साँठगाँठ

१२ माघ २०८०, शुक्रबार २०:०५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको कुटाकुटबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले वक्तव्य जारी गर्दै घटनाको आवश्यक जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको जानकारी दिएका छन् ।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन् ।

शुक्रबार विहान कार्यालय समयमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जानेबेलामा विवाद भएको थियो । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा उनले प्रहरीलाई धेरै सर्च किन गरेको भन्दै प्रश्न गरेका थिए । त्यति मात्र होइन प्रहरीले यो हाम्रो डिउटी हो भन्दा उनले सुरुमा प्रहरी जवानलाई हानेका बताइएको छ ।

प्रहरीलाई प्रहार गरेको देखेपछि अर्का प्रहरीले उनलाई हानेका थिए । यो कुरा अध्यागमन कार्यालय प्रमुख गोगन हमालकहाँ पुग्यो । हमाल हुल बाँधेर प्रहरी भएका ठाउँ पुगेर हकारेपछि फेरि झगडा भएको विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

पहिले हात मोक्तानले हालेका पीडित प्रहरीले बताएका छन् । अध्यागमन अफिसर मोक्तान रिसाहा प्रवृत्तिका व्यक्ति हुन् । उनले यसअघि तीन पल्ट सेवाग्राहीलाई हातपात गरेका थिए । त्यसो गरेकै कारण यसअघिका अध्यागमन प्रमुखले उनलाई चार दिन कार्यालय नआउने नसिहत दिएको खुलेको छ ।

त्यति मात्र नभई उनको समूह सुन तस्कर र भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गिरोहसँग साँठगाँठ रहेको शंकामा तत्कालीन अध्यागमन कार्यालय प्रमुखले उनीहरुको झुण्ड भत्काएका थिए भने त्यहाँको समग्र विकासका लागि उनले कार्यविधि बनाएका थिए । कार्यविधि तयार भइसकेपछि उनलाई यिनै गिरोह र म्यानपावर व्यवसायीको घेराबन्दीका कारण टिक्न नदिई सरुवा गराइएको थियो ।

अध्यागमनका कर्मचारीले प्रहरीलाई मात्रै दोष दिएका छन् भने मोक्तानले प्रहरीले आफुलाई रगताम्ये हुनेगरी कुटेको बताएका छन् । सीसी टिभी फुटेज पनि मोक्तानले कुटाई खाएकोबाट मात्रै हेरिएको थियो ।

नेपालबाट भिजिट भिसामा विभिन्न देश जानेहरुबाट अध्यागमनका कर्मचारीहरुले लाखौं रुपैयाँ उठाउने गरेको र त्यसमा प्रहरी समेत सामेल भएको आरोपपछि सरकारले मंगलबारदेखि भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि लागू गरेको छ । यसअघि सुनकाण्डमा मुछिएका अध्यागमन विभागका महानिर्देशकले ल्याएको १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइएको हो । जसले विमानस्थलमा खटिएका अध्यागमन कर्मचारी, प्रहरी तथा अन्य एजेन्सीहरुलाई कसेको छ ।

हाल गृहमन्त्रालयका प्रवक्ता भट्टराईले समेत महानिर्देशक हुँदा अध्यागमन सुधारका लागि पहल गरेका थिए । प्रहरीसँग झगडा गर्ने मोक्तान त्यतिबेला पनि विमानस्थलमा बदमासी गर्दै हिँड्थे ।

One thought on “विमानस्थल कुटाकुट प्रकरण : सुरुमा प्रहरीलाई हान्ने मोक्तानले यसअघि सेवाग्राहीलाई गरेका थिए हातपात, सुन तस्करसँग पनि साँठगाँठ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*