सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ विरुद्ध स्थानीयबासीद्धारा सेबोनमा उजुरी, तत्काल बुक बिल्डिङ आईपिओ रोक्न माग

१४ माघ २०८०, आईतवार ११:३५

काठमाडौं । सर्वोत्तम सिमेन्टले निष्काशन गरेको बुक बिल्डिङ आईपिओमा स्थानीयबासीले अबरोध गर्ने स्थिति देखिएको छ । गत बिहिबार नेपाल धितोपत्र बोर्डमा रिब्दीकोट २ की एक स्थानीयबासीले दर्ता गराएको उजुरीमा स्थानीयबासीलाई झुक्याएर १०० रुपैयाँमा पाउनुपर्ने आईपिओ ३६० रुपैयाँमा बिक्री गरेको भन्दै तत्काल रोक्न माग गरिएको छ । स्थानीयबासीले देशको प्राकृतिक स्रोत साधन दोहन गरेर सिमेन्ट उत्पादन गरिएको र जनतालाई प्रदुषणको चपेटामा पारेको सिमेन्ट कम्पनीको आईपिओ स्थानीयबासीलाई १०० रुपैयाँमा नदिए भविष्यमा सर्वोत्तम सिमेन्ट खानी सञ्चालन हुन नदिने र यसबाट पर्ने असरबारे लगानीकर्ताहरु सचेत हुन भनिएको छ ।

धितोपत्र बोर्डमा दर्ता भएको उजुरीमा सर्वोत्तम सिमेन्टले आफ्नो वित्तीय विवरणमा देखाएको मुनाफामा नेपाल सरकारको कर छुटको पनि हिस्सा भएकोले सो हिस्सा कटाएर मात्रै खुद नाफा गणना गर्न माग गरिएको छ । राज्यबाट प्राप्त सुविधा, सेवा अन्यलाई बिक्री गर्न वा त्यस्तो सुविधा देखाएर बढि मूल्याङ्कन गर्न नपाइने प्रचलित कानुनको बर्खिलाप हुने गरी सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमा आईपिओ जारी गर्न लागेकोले तत्काल रोकी छानविन गर्न माग गरिएको छ । उता, महालेखा परिक्षकको कार्यालयमा समेत यो विषयमा चर्चा सुरु भएको छ । सरकारी सेवा र सुविधा लिएका कम्पनीहरुले सरकारी सेवा र सुविधा देखाएर जनतालाई महंगो मूल्यमा आईपिओ बिक्री भइरहेको विषयमा सरकारी लेखा प्रणालीको अडिट गर्ने निकाय महालेखामा चर्चा सुरु भएको हो । निवर्तमान महालेखा परिक्षक टंकमणि शर्माले कुनै पनि राज्यको सुविधा पाइरहेका कम्पनीहरुले आईपिओ निष्काशन गर्न गर्दा मुनाफाको हिस्सामा राज्यले दिएको कर छुटको योगदान घटाएर मात्रै दिन सकिने बताए । राज्यबाट कम्पनीको उत्पादकत्व बृद्धिका लागि प्रदान गरिएको छुट सुविधा शेयरको मूल्य बढाउन प्रयोग गर्न नमिल्ने महालेखाको पूर्वजहरुको भनाई छ ।

स्थानीयबासीको हक र अधिकार विश्वव्यापी विषय भएको तथ्य सर्वोत्तम सिमेन्टले स्वीकार नगरेको र नियामक निकाय धितोपत्र बोर्डले समेत आदिबासी हक र अधिकार, वातावरणीय अधिकार, सुरक्षा सम्बन्धी अधिकार, काम सम्बन्धी अधिकार लगायतका अन्तर्राष्ट्रिय रुपमा नेपालले पक्ष राष्ट्र भई सम्झौता पत्रमा हस्ताक्षर गरेको सन्धीहरुको विपरित हुने गरी सर्वोत्तम सिमेन्टले बुक बिल्डिङको नाममा स्थानीयबासीलाई प्रतिकित्ता ३६० रुपैयाँका दरले बुक बिल्डिङ आईपिओ बिक्री गरिरहेको छ ।

नेपाल धितोपत्र बोर्डले पनि रिब्दीकोटका स्थानीयबासीको उजुरी परेको जनाउँदै सो सम्बन्धमा आवश्यक छलफलपछि निर्णइ लिइने सेबोनका कार्यालय प्रमुख डा. नबराज अधिकारीले बताए । उनले भने, ‘उजुरी लिएर आएका छन्, आवश्यक अध्ययन प्रक्रिया अघि बढेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*