आईपीओ निष्काशनका लागि आवश्यक कागजात थप गर्न चार कम्पनीलाई सेबोनको निर्देशन

१४ माघ २०८०, आईतवार १६:१६

काठमाडौं । आईपीओ निष्काशनको प्रस्ताव लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका चार कम्पनीहरुलाई बोर्डले थप कागजात पेश गर्न निर्देशन दिएको छ । बोर्डले डिश मिडिया नेटवर्क लिमिटेड, याम्बालिङ हाइड्रोपावर, अपेक्स हस्पिटालिटी लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडलाई थप कागजात पेश गर्न भनेको हो ।

डिश मिडिया नेटवर्कले सर्वसाधारणका लागि आईपीओ निष्काशनको अनुमति माग्दै गत असार १२ गते बोर्डलाई पत्रचार गरेको थियो । कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्काशनको अनुमति मागेकोमा बोर्डले मंसिर २५ गते जवाफ दिदै थप कागजात मगाएको हो।

त्यस्तै, याम्बालिङ हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशनको अनुमतिका लागि असोज १० गते निवेदन दिएको थियो । बोर्डले कम्पनीलाई मंसिर १२ गते थप कागजात पेश गर्न भनेको थियो ।

त्यसैगरी, २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनको अनुमति माग्दै अपेक्स हस्पिटालिटी लिमिटेडले असोज १२ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीलाई बोर्डले पुस २० गते पूर्ण कागजात पेश गर्न निर्देशन दिएको हो ।

यता, एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि १ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमतिका लागि असोज १९ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीलाई आवश्यक थप कागजात पेश गर्न सूचित गर्दै पुस २० गते बोर्डले जवाफ दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*