सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ तत्काल छानविन गर्न अर्थ मन्त्रालयको निर्देशन, धितोपत्र बोर्ड ढिलाई गर्दै

१८ माघ २०८०, बिहीबार १९:२२

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमा निष्काशन गरिरहेको आईपिओको घोटाला तत्काल छानविन गर्न नेपाल धितोपत्र बोर्डलाई लिखित निर्देशन दिएको छ । ५० प्रतिशत आयकर छुटसहितका कर छुट लिएर आएको मुनाफाको आधारमा बुक भ्यालू निर्धारण गरी सरकार र लगानीकर्ता दुवैलाई झुक्याएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको सम्बन्धमा बीमापोष्टले लगातार समाचार प्रकाशित गर्दै आइरहेको छ ।

अर्थमन्त्रालयले नै लिखित निर्देशन दिएपछि अब सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ छानविनमा पर्ने निश्चित भएको छ । यसअघि नै रिब्दीकोट पाल्पाकी स्थानीयबासीले सर्वोत्तम सिमेन्टको आईपिओमा कर छुटको गणना र मुनाफाको हिसाब नमिलेको भन्दै तत्काल छानविन गरी रोक्न माग सहित उजुरी दर्ता गराएका थिए । सो उजुरीमाथि कुनै पनि सुनुवाई नभइरहेको बेला हिजो अर्थमन्त्रालयले अर्को लिखित निर्देशन दिँदै छानविन गर्न भनेको हो ।

अर्थमन्त्रालयबाट पठाएको पत्र हिजो नै नेपाल धितोपत्र बोर्डमा पुगेको थियो । अर्थमन्त्रालयको निर्देशन बमोजिमको छानविन प्रक्रिया अघि बढाइएको नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । अर्थमन्त्रालयले छानविन गर्न निर्देशन दिएकै दिन हिजै सर्वोत्तम सिमेन्टको महंगो बुक बिल्डिङ आईपिओ ग्लोबल आइएमई क्यापिटलले विदेशमा बस्ने नेपालीहरुका लागि छुट्याएको कोटा बाँडफाँड गरिदिएको छ ।

सबैतिर सेटिङमा भएको सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा बिक्री प्रबन्धककै स्वार्थ बाझिने खेल भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलसहितका कम्पनीहरुको शेयर देखिएको छ ।

उता, गैर कानुनी रुपमा र सरकार अनि लगानीकर्ताहरुलाई झुक्याएर जारी गरिएको सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओको छानविनमा नेपाल धितोपत्र बोर्डले ढिलाई गरिरहेको छ । स्थानीयबासीले एक साता पहिले नै निवेदन दर्ता गरेको भएपनि धितोपत्र बोर्डले ढिलाई गरिरहेको छ । हिजो अर्थ मन्त्रालयले थप छानविन गर्न निर्देशन दिएपछि सेबोन अब छानविन गर्न बाध्य हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*