उधारो कारोबारबारे बोर्डले ब्रोकर कम्पनीलाई सोध्यो स्पष्टीकरण, गलत मनसाय देखिए कारवाही गर्छौ: निमित्त अध्यक्ष अधिकारी

२४ माघ २०८०, बुधबार ११:३३

काठमाडौं । धितोपत्र बोर्डको गुनासो शाखामा लगानीकर्ताहरुको गुनासो बढ्न थालेको छ । समयमा भुक्तानी नपाउने गुनासो सहित बोर्डमा गुनासो बढ्न थालेपछि धितोपत्र बोर्डले ब्रोकर कम्पपनीहरुलाई पत्र पठाएको छ ।लगानीकर्ताले सेयर बिक्री गरेको पैसा समयमै फिर्ता नपाएको गुनासो बोर्डमा मात्रै नभईसमाजिक सञ्जालका पेजहरुमा धेरैले ब्रोकर कम्पनीहरुप्रति आक्रोश जनाउन थालेका छन् ।

बोर्डको गुनासो शाखामा आएका गुनासोहरुमा ब्रोकर कम्पनीहरुमा धेरै उधारो कारोबार दिएको कारण भुक्तानीको समयमा ढिला गरेको बिषय आएको हुँदा यसै बिषयमा हामीले ब्रोकर कम्पनीहरुसँग स्पष्टीकरण सोधेको छ ।

बोर्डका निमित्त अध्यक्ष नवराज अधिकारीले ब्रोकर कम्पनीहरुले समयमै भुक्तानी नदिएका गुनासोहरु धितोपत्र बोर्डमा बाक्लै आएको कारण यो समस्याको बिषयमा हामीले ब्रोकर कम्पनीलाई पत्र पठाएका छौ । ब्रोकर कम्पनीको जवाफ आएपछि यस बिषयमा अध्ययन गर्ने तयारीमा रहेको बीमापोष्टलाई जानकारी दिएका छन् ।

‘बोर्डमा गुनासोहरु सम्बोधनका लागि छुट्टै इकाइ छ, गुनासा आइसकेपछि सो इकाइले ढिलाइ हुनुका कारणबारे कम्पनीसँग जवाफ माग्ने, सचेत गराउने काम गर्छ,’ उनले भने । वाह्य कारण नभई ब्रोकर कम्पनीले नै ढिलाइ गरेमा कारबाही पनि हुने उनले बताए ।

बोर्डको गुनासो इकाइमा लगानीकर्ताले आफ्ना समस्याहरु टिपाउन सक्छन् । इमेल गरी वा हटलाइन नम्बर १६६००१४४४३३ मा गुनासो टिपाउन सकिने बोर्डले जनाएको छ ।
यहाँ आएका गुनासोको सान्दर्भिकता र औचित्य हेरी तत्कालै समाधानका लागि पहल गरिने अधिकारी बताँउछन् । ब्रोकर कम्पनीहरुले भुक्तानी ढिला गर्नुको भित्री रहस्य उनीहरुको उधारो रकम नउठ्नु रहेको आम लगानीकर्ताहरुको बुझाई रहेको छ।

यसअघि ठूला लगानीकर्तालाई ब्रोकर कम्पनीहरुले उधारो कारोबार समेत गराइदिए, तर ठूला लगानीकर्ताले समयमै भुक्तानी गर्न नसकेपछि ब्रोकर कम्पनीहरुले बिक्रीकर्ताको ‘समय’ केही लम्ब्याउने गरेको लगानीकर्ताको आरोप छ ।

समयमै भुक्तानी नहुनुमा ब्रोकर कम्पनीहरुले प्राविधिक कारण देखाउने गरेका छन्, वास्तविकता यो हो कि अर्कै हो भन्ने विषय रहस्यमय देखिन्छ’ शेयर लगानीकर्ता विश्वजंग पाण्डेले भने ।
धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले केही ब्रोकर कम्पनीहरुमा उधारो रकम नउठेर बिक्रीकर्ताले पैसा नपाएको बिषय मात्रै नभई दोस्रो बजारमा नयाँ आएका लगानीकर्ताहरुमा भुक्तानीको बिषयमा सचेतना नहुनु पनि यसको प्रमुख कारण रहेको बताँउछन् ।

आफूहरुको उधारो रकम नउठेर बिक्रीकर्ताले पैसा नपाएको भन्ने विषय पूर्ण रुपमा गलत रहेको उनको दाबी रहेको छ।

कतिपयले केवाईसी विवरण अपडेट नगरेको, परिवर्तित बैंक खाता नम्बर नभएकोजस्ता समस्याका कारण ब्रोकर कम्पनीहरुले पनि दुःख पाइरहेको उनको भनाई छ ।

रेमिट्यान्स खातामा यहाँबाट पैसा जम्मा गरिदिन मिल्दैन, अर्को कुनै खाता नम्बर नभएमा भुक्तानी हुँदैन,’ उनले भने । ब्रोकर कम्पनीलाई रेमिट्यान्स खाता दिएको खण्डमा त्यस्तो अवस्थामा भुक्तानी रोकिएको हुन सक्ने उनले बताए ।

यसअघि ब्रोकर एसोसिएसनले ग्राहकको भुक्तानी नहुनुमा प्राविधिक समस्या भन्दै विज्ञप्ति नै जारी गरेको थियो ।सेयर खरिद गरेका ग्राहकबाट आफूहरुले समयमै भुक्तानी नपाए पनि तिर्नुपर्ने रकम समयमै भुक्तानी गर्ने गरेको उनको दाबी छ ।

‘सेयर खरिद गरेकाहरुबाट ब्रोकर कम्पनीले उठाउनुपर्ने पैसा उठेन भने पनि सेयर बिक्री गरेकाहरुलाई भुक्तानी गर्छौं, हाम्रो पैसा उठेन भन्दैमा पैसा रोक्ने काम गर्दैनौं, त्यस्तो कार्य गर्न मिल्दैन,’ उनले भने।ब्रोकर कम्पनीका सञ्चालकहरु कुनै नियतबस ग्राहकको रकम नदिएको नभई प्राविधिक समस्या र ग्राहकको बैंक खाता नमिल्दा ढिला र समस्या हुने गरेको बताउँछन् ।

कतिपय ग्राहकको बैंक खाता नम्बर परिवर्तन भइसक्ने तर ब्रोकर कार्यालयमा पुरानै खाता नम्बर हुँदा पनि ग्राहकको खातामा पैसा नगएको हुन सक्ने उनको भनाई छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*