सर्वाेत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१६ फाल्गुन २०८०, बुधबार ०६:२५

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १६) गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले यसमा आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाडँफाँड गरेपश्चात् सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यस कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । बुक बिल्डिङ विधिबाट निर्धारण भएको कम्पनीको शेयर प्रतिकित्ता ३६०.९० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । यस शेयरमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यसमा ५० कित्ता शेयरमा आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ लाग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी’ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्ने मध्यस्तरको क्षमता रहेको संकेत गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*