राष्ट्र बैंकको खराब नीति र अर्थमन्त्रालयको मौनताले शेयर बजार धरासायी

दिपक बिष्ट
१६ फाल्गुन २०८०, बुधबार १८:२०

काठमाडौं । शेयर बजारमा उतारचढाव कायमै छ । पछिल्लो समय शेयर बजारले लय लिन सकिरहेको छैन । पछिल्ला केही दिन राताम्य भएको शेयर बजार हिजो र अस्ति सुधार देखियो । बुधबार पनि कारोबार २ अर्ब पुगेको छ ।

लगानीकर्ताले राष्ट्र बैंकको समीक्षामार्फत केही पोलिसीको आशामा बसेका थिए । गभर्नर महाप्रसाद अधिकारीको पछिल्ला केही अभिव्यक्तिले पनि सोही संकेत गरिरहेको थियो । तर, अन्तिममा आएर सबै लगानिकर्तालाइ राष्ट्र बैंकले खिन्न गरायो । न सरकारले केही गर्न सक्यो, न राष्ट्र बैंकले सुधारको पोलिसी नै ल्याउन सक्यो ।

बजार घट्नुमा नियामक जिम्मेवार

पछिल्लो समय बैंकका पैसा थुप्रिएको छ । बैंकको पैसा राष्ट्र बैंकले लिइरहेको छ । तर, बचतको व्याज घटाइरहेको छ, लेन्डिङमा व्याज घटाएको छैन । यसबाट के बुझ्न सकिन्छ भने बैंकमा १८ खर्ब (राष्ट्र बैंकले खिचेको र बैंकहरुसँग भएको) छ । लगानीकर्ताहरु प्रश्न गर्छन्, ‘१८ खर्ब रुपैयाँ अर्थतन्त्रमा नआउँदा बैंक र राष्ट्र बैंकले अर्थतन्त्र नै ध्वस्त पार्न खोजेका त होइनन् ? बैंकमा जम्मा गरेर अनुउत्पादक बनाएर किन राख्ने ?’ र, उनीहरु भन्छन्, ‘अर्थतन्त्रमा आए उक्त रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन जान्थ्यो भने पूँजी बजार चलायमान हुन्थ्यो ।’

अहिले धेरै लगानीकर्ताको पैसा डम्प भएको छ । शेयर बजारबाट करिब १५–१६ खर्ब रुपैयाँ गुमिसकेको छ । शेयर बजार चलयमान भए लगानीकर्ताको फसेको अर्बौ रुपैयाँ फिर्ता आउने थियो । लगानीकर्ताले मात्रै अर्बौ गुमाएका छैनन् । उद्योग, व्यापारी र पूर्वाधारमा लगानी गर्नेहरु कोरोनाको समयदेखि फसेका छन् । बैंकको एनपीएल समेत सोही कारण बढेको हो । उपयुक्त पोलिसी नआएसम्म शेयर बजारमा सुधार आउन कठिन रहेको लगानीकर्ताको धारणा छ ।

लगानीकर्तालाई आशा मात्रै देखाइयो

जसरी बैंकको ब्याजदर बढाउने पोलिसी आएको थियो त्यो पोलिसी खारेज हुनासाथ बजार बढ्ने नै थियो । तर, बैंक र राष्ट्र बैंक मिलेर बढी व्याज खाइरहेका छन् । बैंकका जिम्मेवार व्यक्तिले समेत बजारमा मनपरी बोल्ने गरेका छन् । केही बैंकहरुले अर्को वर्ष समेत लाभांश दिन सक्दैनौ भनेर अग्रिम घोषणा गरेका छन् । जिम्मेवार व्यक्तिहरुले यसरी बेलगाम बोल्दा बजारमा नकारात्मक असर परिरहेको छ ।

केही साताअघि १८ सय विन्दुबाट २२ सयसम्म पुग्दा लगानीकर्ताको मनोबल बढ्दै गएको थियो । कारोबार समेत प्रत्येक दिन ५ अर्ब माथि भइरहेको थियो । त्यस बेला लगानीकर्तालार्ई मौद्रिक नीति समीक्षामार्फत केही आउने अपेक्षा थियो । शेयर बजारको तगारोका रुपमा रहेको शेयर कर्जाको क्याप हट्ला, व्याजदर घटाउने केही पोलिसी आउला र अन्य नीतिगत सुधार होला भन्ने आशामा लगानीकर्ता थिए । तर, त्यसो हुन सकेन ।

यता, धितोपत्र बोर्डको अध्यक्ष चुन्नै महिनौ लागिरहेको छ । बोर्डमा फाइल रोकिएर बसेका छन् । अर्थमन्त्रालयले समेत आफुले गर्नु पर्ने काम केही गरेन । करमा केही सामान्य हेरफेर गरिदिएको भए राजस्व समेत बढ्थ्यो र पूँजी बजारमा समेत चलयमान हुनेथियो ।

अर्थमन्त्रालयमा बेला-बेला धाएर लागनीकर्ताले आफ्ना माग राख्दा समेत कहिल्यै सुनुवाई हुँदैन । यो सब हेर्दा इच्छा शक्ति कम भएको जस्तो लाग्छ । राष्ट्र बैंकले चोहेको खण्डमा तुरुन्तै शेयर बजार चलयमान बनाउन सक्छ । राष्ट्र बैंकले कुनै पनि पोलिसी नल्याउदा बजार खुम्चिरहेको छ । कुनै बेला बजार बढेर राजस्व १ अर्ब २० करोडसम्म लगानिकर्ताले तिरेको थियो। अहिले भने पूँजीबजारबाट राज्यले निरन्तर राजस्व गुमाइरहेको छ । लगानीकर्ताको दिमाग खराब भएको अवस्था छ । चारैतिर मन्दीको सन्नाटा छ । लगानीकर्ताको हात खाली छ । नियामकहरु मुकदर्शक बनिरहेका छन् । राष्ट्र बैंक र अर्थमन्त्रालयले आ-आफ्नो काम गर्ने वित्तिकै पनि सब कुरा ठीकठाक हुनेथियो ।

पूँजी बजारमा ३-४ खर्ब ऋण प्रवाह हुनुपर्छ

बजार बढ्नका लागि नियामकबाट सकारात्मक कुरा आएको भए राम्रो हुने थियो । भुटान जस्तो सानो मुलुकमा अस्ति भर्खर ५६ प्रतिशत बढ्यो, भारत र पाकिस्तानमा समेत बजार सकारात्मक अवस्थामा रहेको छ । हाम्रोमा निरन्तर गुमिरहेको अवस्था छ ।

पूँजीबजार बलियो बनाउनेका लागि व्याजरेट कम गर्ने, बजारलाई वाधा गर्ने सीमाहरु सुधार गर्दै लैजाने, ब्रोकर कमिशन घटाउने काम गर्नासाथ पूँजी बजार चलयमान हुन्छ । बजार बढे बिस्तारै तिर्नु पर्ने पैसा समेत लगानीकर्ताले तिर्दै जान्छन् ।

बजार ३२ सयमा पुग्दा जम्मा जम्मी सेयर बजारमा १२५ अर्ब रुपैयाँ लोन थियो । नियामकको गतल नीतिका कारण लोन ६५ अर्बले घट्यो । अब बजार सुधार तिर जान्छ भनेर ८५ अर्ब रुपैयाँसम्म बजारमा ऋण छ । शेयर बजारमा कहिल्यै बढी ऋण गए कै छैन । शेयर बजारबारे गलत प्रचार हुनुले पनि असर गरिरहेको छ । हाम्रो विचारमा ३-४ खर्ब लोन सेयर बजारमा जानु पर्छ । यो जानको लागि व्याजदर कम हुनुपर्छ । राष्ट्र बैंकको गलत नीति र अर्थमन्त्रालयको मौनताले शेयर बजार धरासायी भएको हो । जबसम्म पूँजी बजारबाट पैसा निकासा हुँदैन तबसम्म अर्थतन्त्र चलयमान हुने कुनै सम्भावना नै छैन ।

(इन्भेष्टर्स फोरम नेपालका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारसँगको कुराकानीमा आधारित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*