सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँडको मिति तय, कतिको होला हात खाली ?

१८ फाल्गुन २०८०, शुक्रबार ११:३३

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आगामी बुधबारसम्ममा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटल स्रोतका अनुसार आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने तयारी छ। त्यसपछि धितोपत्र बोर्डमा आईपीओ बाँडफाँडको लागि स्वीकृति माग गरिने र बोर्डले अनुमति दिएमा बुधबारसम्म आईपीओ बाँडफाँड गर्ने क्यापिटलको तयारी छ ।

सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा १९।३२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।

कम्पनीले फागुन १३ गतेदेखि आज फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो।

कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०।९० रुपैयाँ रहेको थियो। आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। शेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ता नै शेयर बाँडफाँड हुने छ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र शेयर पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*