२ हजारको विन्दुबाट घट्यो शेयर बजार, कुन उपसूचक घट्यो र बढ्यो ?

१९ फाल्गुन २०८०, शनिबार १६:३७

काठमाडौं । गत साता २००५ अंकमा रहेको सेयर बजार यो साता घटेर १९७२ कायम भएको छ । एक सातामा १.६४ प्रतिशत अर्थात् ३३ अंकले बजार घटेको छ ।गत साताको तुलनामा गिरावट दर केही कम हो ।

गत साता बजार २.७६ प्रतिशत घटेको थियो । यो साता ५ दिन बजार खुलेकोमा २ दिन बढ्यो भने ३ दिन घट्यो ।

पहिलो दिन आइतबार २६.८१ अंक घटेको बजार सोमबार १३.२८ र मंगलबार ९.३४ अंक बढ्यो । बुधबार ०.८७ अंक मात्रै घटेकोमा बिहीबार फेरि २८.६८ अंक झ¥यो । बढ्दा थोरै अंक बढ्ने, तर घट्दा धेरै अंक घट्ने हुँदा बजारको ओरालो यात्रा कायमै देखिन्छ ।

बजार उच्च दरमा घट्दा कारोबार रकम पनि बढी भएको देखिन्छ । आइतबार ३ अर्ब ८ करोडको कारोबार हुँदा सोमबार २ अर्ब १ करोड, मंगलबार १ अर्ब ८६ करोड, बुधबार २ अर्ब ३ करोड र बिहीबार २ अर्ब ५९ करोडको कारोबार भयो।

सबै समूह घट्दा यो साता उत्पादन र व्यापार समूह बढेका छन् । उत्पादन समूह ११.७६ प्रतिशत बढ्यो । यो समूह यति उच्च दरले बढ्नुमा ३ कम्पनीको मुख्य भूमिका छ ।

यस समूहमा जम्मा ८ कम्पनी सूचीकृत छन् । तीमध्ये एउटा कम्पनी नेपाल ल्युब आयलको सेयर कारोबारमै आउँदैन । बाँकी ७ मध्ये ५ कम्पनी युनिलिभर नेपाल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीको मूल्य यो साता सामान्य बढ्यो भने दुई कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईको मूल्य उच्च दरले बढ्यो । जसले गर्दा समग्र समूह उच्च दरमा बढ्न गयो ।

सीमित सेयर संख्या, त्यो पनि निश्चित समूहको पकडमा रहेका कारण बोटलर्स नेपालका दुवै कम्पनीको मूल्य उच्च दरमा बढिरहेको छ ।

दुवै कम्पनी चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा नोक्सानीमा छन् । यो साता सबैभन्दा धेरै मूल्य बढेका कम्पनीमा बोटलर्स नेपाल बालाजु पहिलो र तराई तेस्रो स्थानमा रहे ।त्यस्तै व्यापार समूहमा २ कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र विशाल बजार कम्पनी मात्रै सूचीकृत छन् । यो साता विशाल बजारको मूल्य १४ प्रतिशत बढ्यो भने साल्ट ट्रेडिङको मूल्य सामान्य बढ्यो, जसले समग्र समूहलाई माथि तान्यो ।

हाइड्रोपावर समूह गत साता पनि सबैभन्दा उच्च दरले घटेको थियो । गत साता ५.१७ प्रतिशत घटेको यो समूह यो साता ४.०५ प्रतिशत घट्यो । हाइड्रोपावर समूहले नै समग्र बजारलाई उच्च दरमा घटाएको पाइन्छ । बैंकिङ सूचक पहिलेदेखि नै ओरालोमा छ । यो समूहको सूचक ४४ महिनायताकै न्यून विन्दुमा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*