तीन कम्पनीको साधारण सभा आज, एकले लाभांश पारित गर्दै

२० फाल्गुन २०८०, आईतवार ०७:३८

काठमाडौं । आज फागुन २० गते आइतबार हिमालयन रिइन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा बस्दैछ । जसमध्ये हिमालयन रिले मात्रै लाभांश प्रस्ताव गरेको छ भने बाँकी दुईले लाभांश प्रस्ताव राखेका छैनन् ।

हिमालयन रिको साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग–काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभालेले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद (कर प्रयाजनार्थ) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा बोनस शेयर वितरणपछि कायम हुने पूँजीमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुक क्लोज गरेको थियो । जसअनुसार फागुन ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै, आइजीआई प्रुडेन्सियलको सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले गत आवको वित्तीय विवरणमा छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

सभाले एक जना महिला सहित संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १० गते बुक क्लोज गरिसकेको छ । तसर्थ फागुन ९ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।

त्यसैगरी, स्वाभिमान लघुवित्तको सभा कम्पनीको केन्द्रीय कार्यालय तिलोत्तमा ५ रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आवको लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको नियुक्ती गरी रिक्त पदमा मनोनयनको अनुमोदन गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार फागुन १० गतेसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*