वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग निश्चित, झुक्किए लगानीकर्ता !

२१ फाल्गुन २०८०, सोमबार १२:५५

काठमाडौं । सत्ता समिकरण फेरिएसँगै अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको नाम चर्चामा थियो । तर पछिल्लो घटनाक्रम अनुसार अर्थमन्त्री विष्णु पौडेल नभई वर्षमान पुन (अनन्त) बन्ने लगभग निश्चित भएको छ ।

माओवादी स्रोतका अनुसार हालसम्मको पछिल्लो सहमति अनुसार एमालेले राष्ट्रिय सभाको अध्यक्ष पद पाएपछि अर्थ मन्त्रालय माओवादीलाई दिन केपी ओली लगभग सहमत भएका छन् । माओवादीले अर्थमन्त्रीका रुपमा वर्षमान पुनलाई अघि सार्नेछ । माओवादीमा विगत तीन वर्षदेखि मन्त्री नबनी बसेका पुन यसअघि जनार्दन शर्मापछि वर्तमान सरकारमै पनि मन्त्री बन्ने चर्चा थियो । तर, पालो पुर्याउन प्रधानमन्त्री प्रचण्डले पुनलाई बाहिरै राखेका थिए । जनयुद्धकालमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर तथा सुप्रिमोका विश्वासपात्र पुनलाई यस पटक अर्थमन्त्री बनाउन लागेका हुन् ।

वर्षमान पुन यसअघि तत्कालिन बाबुराम भट्टराईको पालामा र यसअघिको देउवा सरकारको पालमा दुई पटक अर्थमन्त्री भइसकेका व्यक्ति हुन् । उनको अर्थतन्त्रबारे नपढेका भएपनि रातैभरि अध्ययन गरेर देशको आर्थिका नीति बनाउने गरेका थिए ।

उता, एमाले स्रोतले पनि विष्णु पौडेल अर्थमन्त्री नबन्ने तथ्य स्वीकार गरिसकेको छ । एक नेताले बीमापोष्टसँग भने, ‘अर्थमन्त्री बन्ने भए त पहिलो चरणमै मन्त्री बन्न जानुहुन्थ्यो, अन्तिम सहमति त भइसकेको छैन, तर विष्णु पौडेल रक्षामन्त्री बन्ने सम्भावा छ ।’ मन्त्रालय भागबण्डा र को को मन्त्री बन्ने भन्ने विषयमा अन्तिम टुंगो लागि नसकेकोले अहिले नै अन्तिम निर्णय मान्नु भने हुँदैन । दुवै पार्टीको बैठक बसिरहेको भएर अहिले नै अन्तिम टुंगोमा पुगिसकेको छैन ।

उता, शेयर लगानीकर्ताहरु भने नमजासँग झुक्किएका छन् । विष्णु पौडेल अर्थमन्त्री बन्ने र यही मौकामा शेयर किन्नेहरुको भिड बढेका कारण लगानीकर्ताहरु अत्तालिएर किन्न खोज्दा तेस्रो पटकको पोजेटिभ सर्किट लागेर शेयर बजार आजको लागि बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जको समग्र मूल्य परिसूचक ११७.७० अंकले बृद्धि भएर कारोबार बन्द भएको छ । विष्णु पौडेल अर्थमन्त्री नबन्ने निश्चित भएसँगै भोलिबाट शेयर बजार के हुन्छ अन्यौलमा पर्नेछ । वर्षमान पुन पनि लगानीकर्ताप्रति सकारात्मक व्यक्ति भएकोले आज बढेको शेयर मूल्य भोलि पनि कायमै रहने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*