धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको कागजात हेरफेर, २७७ रुपैयाँको आवेदन कसरी पुग्यो ३७७ ?

२८ फाल्गुन २०८०, सोमबार ११:४३

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको कागजात हेरफेर गरेको पाइएको छ । प्रिमियममा बोर्डमा आइपिओ निष्कासनका लागि दिएको आवेदन मूल्य रातारात वृद्धि गरेको पाइएको हो ।

गत पुस २६ गते कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता बराबरको कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँको आइपिओ निष्कासनको अनुमति मागेको हो । जुन सूचना धितोपत्र बोर्डको वेबसाइटमा समेत राखिएको थियो ।

तर, बोर्डको वेबसाइटमा प्रकाशित सूचनामा प्रिमियम दर थप भएको पाइएको हो । प्रिमियम थप १०० रुपैयाँ बढाइएको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ३७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको छ । कम्पनीले शेयर निष्कासनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीको प्रिमियम थप भएपश्चात बोर्ड माथि नै प्रश्न खडा भएको छ । रातारात आवेदन दिएको मूल्यमा प्रिमियम थप भए पश्चात चलखेल भएको हुन सक्ने आंशका बढेको छ । वित्तीय अवस्था समेत खराब रहेको कम्पनीले प्रिमियममा आइपीओ निष्कासन अनुमतिमा लागि आवेदन दिएदेखि नै चौर्तर्फी आलोचना भइरहेको छ । थप प्रिमियम थपिनु बोर्ड भित्र भइएको चलखेल हो ।

नाजुक वित्तीय अवस्था

कम्पनीको व्यापार पछिल्लो समय निरन्तर खस्किरहेको छ । सन् २०२२ तुलनामा सन् २०२३ मा कम्पनीको ७२ करोड ७० लाख रुपैयाँको व्यापार गायब भएको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन सन् २०२२ को भन्दा १४।७४ प्रतिशतले कम हो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार कम्पनीले २०२२ मा ४ अर्ब ९७ करोड रुपैयाँ व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड, सन् २०२० मा ५ अर्ब ६३ करोड र सन् २०१९ मा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्ष कम्पनीको मुनाफा निरन्तर ओरालो लागि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*