धितोपत्र बोर्डको अध्यक्षमा सर्टलिष्ट गर्ने तयारी हुँदै क–कस्को नाम निस्केला ?

२ चैत्र २०८०, शुक्रबार १२:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ । अन्तिम दिनसम्म आवेदन दिएका १९ जना मध्येबाट सर्टलिष्ट गरी पाँच जनाको नाम छनौट गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले १९ जना आवेदक मध्येबाट पाँच जनाको नाम तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । हाल चर्चामा रहेका नाम अनुसार चिरञ्जीवी चापागाँई, डा. नबराज अधिकारी र कृष्ण बहादुर कार्कीको सर्टलिष्टमा पर्ने निश्चित छ । यस बाहेक डा बिमल कुमार तिवारीको समेत सर्टलिष्टमा नाम निस्कने सम्भावना बलियो रहेको चर्चा चलिरहेको छ । यस बाहेक अर्का एक जना कसको नाम सर्टलिष्ट ५ भित्र पर्छ भनेर निश्चित भइसकेको छैन ।

छनौट समितिले सार्वजनिक गरेको ५ जनालाई कार्ययोजना र प्रस्तुतिकरण पछि तीन जनाको नाम सिफारिस गर्नेछ । छनौट समितिमा श्रेष्ठको अलावा अर्थ सचिव सचिव कृष्णहरि पुस्कर र विज्ञको तर्फबाट उदय निरौला सदस्य रहेका छन् । निरौला माओवादी कोटाबाट शंकरदेव क्याम्पसमा प्राध्यापन गर्दै आइरहेका छन् ।

यस पटक धितोपत्र बोर्डमा माओवादी कोटाबाट आउने निश्चित जस्तै देखिएको छ । सो आधारमा यस पटक धितोपत्र बोर्डमा चिरञ्जीवी चापागाई, डा. नबराज अधिकारी र कृष्ण बहादुर कार्कीका बीचमा भिडन्त हुने देखिएको छ ।

स्रोतका अनुसार आजै वा आगामी सोमबारसम्ममा सर्टलिष्टमा परेका पाँच जनाको नाम सार्वजनिक हुनेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ बजेट निर्माणमा व्यस्त हुने भएकोले पनि चाँडै नियुक्त प्रक्रिया पूरा गर्न चाहेको देखिएको छ ।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ । हाल डा. नबराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*