अपर तामोकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, दुई दिनमै ६६ करोड रुपैयाँ बढिको कारोबार

२ चैत्र २०८०, शुक्रबार १३:४८

काठमाडौं। अपर तामोकोशी हाइड्रोपावरको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस साताको दुई दिनमै कम्पनीको ६६ करोड रुपैयाँ बढिको सेयर किनबेच भएको हो ।नेप्सेका अनुसार बुधबार र बिहीबारमा मात्रै कम्पनीको ६६ करोड ४३ लाख ५६ हजार ७२५ रुपैयाँ बराबरको ३६ लाख १४ हजार ९११ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार साढे १५ करोडको ८ लाख ४६ हजार र बिहीबार ५० करोड बढीको २७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ ।विगत २ महिनादेखि औसतमा दैनिक ५० हजार हाराहारी कित्ता मात्रै कारोबार हुँदै आएको कम्पनीको पछिल्ला दुई दिनमा भने लाखौं कित्ता कारोबार भएको हो ।

कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित हुनुको प्रमुख कारण हो मूल्य इतिहासकै सस्तो हुनु । २०७५ पुस २९ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य विगतमा ९०० रुपैयाँ माथि पुगेको थियो । बिहीबार घटेर इतिहासकै न्यून १७० रुपैयाँसम्म आएको थियो । मूल्य निकै सस्तो भएपछि लगानीकर्ताले बिक्रीमा आएजति सबै सेयर उठाएका हुन् ।

यसैसाता नेप्सेमा कम्पनीको १०० प्रतिशत अर्थात् १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । हकप्रद सूचीकृत हुन अघि पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ माथि थियो । हकप्रद सूचीकृत पछि आपूर्ति दोब्बरले बढ्दा बिक्री चाप ह्वात्तै बढ्यो । जसकारण बुधबार कम्पनीको सेयर मूल्यमै नेगेटिभ सर्किट लागेको थियो । १० प्रतिशतले घटेर कम्पनीको सेयर मूल्य १८३ रुपैयाँमा आएको थियो । मूल्य निकै सस्तो भएपछि बिहीबार खरिदकर्ता हाबी हुँदा कम्पनीको एकैदिन ५० करोड कारोबार भएको हो ।

हाल कम्पनीको वित्तीय अवस्था कमजोर छ । अझै केही वर्ष लाभांश दिनसक्ने अवस्था छैन । तर, कम्पनीको सेयर हालसम्मकै सस्तोमा पाएपछि लगानीकर्ता आकर्षित भएका हुन् । तामाकोशी नेपालकै सबैभन्दा ठूलो हाइड्रोपावर हो । नेप्सेमा हाल ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । तीमध्ये आधादर्जन कम्पनीको मात्रै सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ ।अहिले अधिकांश हाइड्रोको सेयर मूल्य ३०० रुपैयाँ माथि रहेकोले लगानीकर्ताले यसको पनि चाँडै माथि पुग्ने आशमा सेयर किनेका हुन् ।

पछिल्लो समय सरकारले सेयर बजार सुधारका लागि प्रयास गरिरहेको छ । प्रणालीमा अधिक तरलता र ब्याजदर घट्दो क्रममा छ । नेप्से २ वर्ष बढी बियरिस ट्रेन्डमा रहेकाले आगामी दिनमा बजारले गति लिने लगानीकर्ताको अपेक्षा छ । अहिले सस्तोमा सेयर उठाएर राख्दा भविष्यमा राम्रै फाइदा लिन सकिने आशामा लगानीकर्ता कम्पनीको सेयरमा झुम्मिएका हुन् ।

त्यस्तै, नेप्सेमा सूचीकृत १३ समूहमध्ये हाइड्रोपावर सेक्टरमा उच्च आकर्षण देखिन्छ । वित्तीय अवस्था कमजोर भएका कम्पनीको पनि सेयर मूल्य आकाशिएका छन् । यस्तोमा तामाकोशीको पनि मूल्य बढ्ने आशामा सेयर किनेका हुन् । तामाकोशीको सेयर मूल्यमा बेलालबेलामा चलखेल समेत हुने गरेको छ । अहिले सस्तोमा उठाएकाले नाफा कमाउन फेरि मूल्य बढाउन सक्ने सम्भावना देखेर पनि केही लगानीकर्ताले सेयर किनेका हुन् ।

अहिले ऋणका कारण थलिए पनि कम्पनीले ऋण चुक्ता गरी सकेपछि राम्रो प्रतिफल दिनसक्ने देखिन्छ । कम्पनीले वार्षिक १० अर्ब बढीको बिजुली बिक्री गर्छ । साथै, कम्पनीले नयाँ आयोजना निर्माण अघि बढाएको छ । कम्पनीको सेयरमा गरिएको लगानीबाट दीर्घकालमा राम्रो फाइदा लिनसक्ने लगानीकर्ताको अपेक्षा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*