शेयर बजारप्रति मनपरी बोल्नेलाई कारबाही हुनुपर्छ: लगानीकर्ता रौनियार

दिपक बिष्ट
२ चैत्र २०८०, शुक्रबार १८:४३

काठमाडौँ । नयाँ अर्थमन्त्री वर्षमान पुनको आगमनसँगै लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । अर्थमन्त्री पुनले शेयर बजार सुधारमा देखाएको सक्रियताले नयाँ आयाम दिने देखिएको छ । बिस्तारै नियामक लचिलो बन्दै जाँदा लगानीकर्ताको मनोबल समेत दरिलो बन्दै गएको हो ।

यो साता (फागुन २७ गतेदेखि चैत १ गते) ४ दिन बजार खुलेको हो । बजार दुई दिन उच्च वृद्धि हुँदा साताका अन्तिम दुई कारोबारको दिन ओरालो लागेको थियो । समग्रमा बजार यस साता ५०.३३ अकंले बढेको छ । परिसूचक समेत उचाइ तिर लम्की रहेको छ । परिसूचक यो साताका दुई कारोबारको दिन २१ सय बिन्दुमा माथि उक्लिएको हो ।

लगानीकर्ताको मनोबल दरिलो बन्दै गएको छ । कारोबार समेत निरन्तर उकालो लागि रहेको छ । यस साता दुई दिन ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ ।

अर्थमन्त्री पुनमाथि लगानीकर्ताको विश्वास

नयाँ अर्थमन्त्रीको रूपमा पुनलाई पाएपछि लगानीकर्ताको उत्साहित बनेका छन् । अर्थमन्त्रीले पहिलो दिन मै लगानीकर्ताको उच्च मनोबल तथा ६० लाखको थलो सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय पुनले देखाएको सक्रियताले बजारलाई सकारात्मक बनाएको छ । पुन यसअघि जलस्रोत तथा अर्थ मन्त्री हुँदा समेत उत्कृष्ट काम गरेका थिए । अघिल्लो सत्ता गठबन्धन टुट्नुको कारण नै अर्थमन्त्री थिए । अर्थतन्त्रमा सकारात्मक माहोल बनाउन नसकेको भन्दै टुटेर सरकारपछिको गठबन्धनले शेयर बजारका लागि राम्रो नै गर्छ भन्ने आस लगानीकर्तामा रहेको छ ।

नयाँ अर्थमन्त्री ठुलो भिजन बोकेर आएका छन् । शेयर बजारमा सुधारका लागि पुनले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएससँग सुझाव मागेका छन् । बोर्डको सूचना अनुसार लगानीकर्ताले समेत मार्केट सुधारका लागि आफ्ना–आफ्ना सुझाव पेस गरी सकेको छन् ।

अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको तालमेल मिल्यो

लगानीकर्तालाई अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कको तालमेल समेत मिलेको देखिन्छ । राजनीति गतिविधिले समेत शेयर बजारको दिसा निर्धारण गर्छ । पछिल्लो सत्ता गठबन्धन र शेयर बजारका नियामक निकायको तालमेल मिलेको आभास लगानीकर्तामा भएको छ ।

लगानीकर्ताको मनोबल दरिलो

शेयर बजारमा लगानीकर्ताको मनोबलले ठुलो भूमिका खेलेको हुन्छ । पछिल्लो समयको नियामकको सक्रियताले बजारका लगानीकर्ताको मनोबल उच्च बन्दै गएको छ ।

नियामक शेयर बजारमा सुधारका लागि सकारात्मक देखिएको छ । बजारलाई बाधा गर्ने केही नीतिगत कुरामा सुधार हुने अपेक्षा लगानीकर्ताले राखेका छन् । बाधाहरू फुकुवा हुने वित्तीय बजारले लय लिन्छ ।

लगानीकर्ताले के खोजेका छन् ? 

अल्पअवधि (होर्डिङ पिरियड १ वर्षभन्दा कम)मा पुँजीगत लाभको ५ प्रतिशत, मध्यम अवधि (होर्डिङ पिरियड १ देखि ३ वर्षसम्म)मा पुँजीगत लाभको ३ प्रतिशत र दीर्घ अवधि (होर्डिङ पिरियड ३ देखि ५ वर्षसम्म) मा पुँजीगत लाभको १ प्रतिशत कायम हुनु पर्ने माग लगानीकर्ताको रहँदै आएको छ । यो बजेटबाट मात्र हुन्छ भन्ने हुँदैन । पूर्व अर्थमन्त्री युवराज खतिवडाले बजेट अघि नै यस्तो व्यवस्था गरेको  उदाहरण छ । अर्थ मन्त्रालयले चाह्यो भने पुँजीगत लाभकर नलाग्न व्यवस्था गर्न सक्छ ।

ब्रोकर कमिसन घट्ने आस पनि अहिलेको अर्थ मन्त्रालयबाट लगानीकर्ताले चाहेका छन् । १० प्रतिशत ब्रोकर घटाउन बोर्डबाट दिएको कुरा पहिलेको अर्थ मन्त्रालयले रोकेको छ । उक्त कमिसन घट्दा लाखौँ लगानीकर्तामा उत्साह आउने देखिन्छ ।

त्यस्तै, शेयर बजारको तगारोका रूपमा रहेको शेयर कर्जाको क्याप हट्ला, ब्याजदर घटाउने केही पोलिसि र अन्य नीतिगत सुधार हुने आस लगानीकर्तामा रहेको छ । अन्तर दिवसीय कारोबार, धितोपत्रको सापटी लिनदिने सञ्चालनमा ल्याउन आवश्यक नीतिगत व्यवस्था गर्ने तथा अक्सन मार्केटलाई क्रियाशील बनाउनुपर्ने लगानीकर्ताको आवाज रहँदै आएको छ । पछिल्लो समय बैङ्कका पैसा थुप्रिएको छ । बैङ्कको पैसा राष्ट्र बैङ्कले लिइरहेको छ । तर, बचतको व्याज घटाइरहेको छ, ल्यान्डिङमा व्याज घटाएको छैन । ल्यान्डिङमा समेत घटाउनु आवश्यक रहेको छ ।

यता, माइक्रोफाइनान्सको लाभांश वितरणमा लगाएको सीमा घटाउन समेत लगानीकर्ताले आवाज उठाउँदै आएका छन् । लघुवित्तका लगाइएको अङ्कुशमा लगानीकर्ताले आलोचना गर्दै आइरहेका छन् । राष्ट्र बैङ्कको गलत नीतिले अहिले माइक्रोफाइनान्सको नाजुक अवस्था रहेको छ ।

अबको बोर्डको अध्यक्ष कस्तो ? 

लगानीकर्ताको भावना बुझ्ने बोर्डको अध्यक्ष मार्केटले खोजेको छ । बजारमैत्री दिगो पोलिसि सेबोनले बनाउनु अबको आवश्यकता रहेको छ । लगानीकर्ताले बजार प्रतिस्पर्धी बनाउनको लागि नयाँ स्टकको माग गर्दै आइरहेका छन् । नयाँ स्टक समेत ल्याउन सेबोनको सक्रियता लगानीकर्ताले खोजेका छन् ।

मार्केट बारे मनपरी बोल्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउनु पर्ने देखिएको छ । मनपरी बोल्ने, यो कम्पनीको शेयर यति पुराउँछु भन्ने र चलखेल गर्नेहरूलाई साइबर नीति कडा बनाएर कारबाही गर्नु पर्छ । यो अहिले बजारमा चलेको ठुलो चुनौती हो । यसमा सक्रियता लगानीकर्ताले खोजेका छन् ।

प्रिमियम र बुक बिल्डिङमा आइपिओ जारी गर्ने कुरामा बोर्डले पारर्देशी नियम बनाउनु पर्छ । बिना आधार हचुवाको भरमा प्रिमियममा आइपिओ निष्कासन गर्ने कुरामा रोक लाग्नुपर्छ ।

अबको बजारको यात्रा सकारात्मक 

पछिल्लो समय निरन्तर रेमिट्यान्स बढ्दो छ । १८ महिना भन्दा बढीलाई धान्ने गरी अहिले पैसा छ । अर्थतन्त्रमा हरेक सूचक सकारात्मक बन्दै गएको अवस्था छ । ब्याजदर समेत घट्ने अवस्था छ । यस कारण समेत बजारमा बढ्नुको विकल्प नै छैन ।

लगानीकर्ता बजारप्रति परिपक्व छैनन् । बजारिए हल्लाको भरमा लगानीकर्ता चली रहेको देखिन्छ । यो कारणले लगानीकर्ता डराउने आत्तिने र डराउने छन् । बिस्तारै लगानीकर्ता समेत शेयर बजार बारे बुझ्दै गएका छन् । अब बजारले नयाँ आयाम दिन्छ ।

(इन्भेष्टर्स फोरम नेपालका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारसँग कुराकानीमा आधारित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*