शेयर बजारमा अर्बौको सेटिङमा अख्तियारको छानविनमा परेका व्यक्तिको नाम सर्टलिष्टमा !

४ चैत्र २०८०, आईतवार १४:५८

काठमाडौं । यतिबेला नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष छनौटको काम भइरहेको छ । नेपाल सरकारले गठन गरेको कार्यकारी प्रमुख छनौट कार्यदलले मागेको सूचना बमोजिम १९ जनाले अध्यक्ष बन्न आकांक्षा देखाएका छन् ।
आवेदक मध्येबाट पाँच जनाको नाम सर्टलिष्ट गर्ने कार्य अन्तिम चरणमा पुगेको अनौपचारिक स्रोतबाट बाहिर आइरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सो समितिले सर्टलिष्टमा सार्वजनिक लेखा समितिले भ्रष्टाचारमा दोषी देखेर कारवाही गर्न अख्तियारमा सिफारिस गरेका मुक्ति श्रेष्ठको समेत नाम समावेश गरेको बताइएको छ ।

यद्यपि स्वतन्त्र रुपमा नयाँ सिईओ छनौट कार्य गरिरहेको कार्यदलले पाँच जना सर्टलिष्टमा परेको नाम सार्वजनिक गरिसकेको छैन । अनौपचारिक रुपमा बाहिरिएको सर्टलिष्टवालाहरुको सूचिमा धितोपत्र बोर्डको नियमन विभागका प्रमुख कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको समेत नाम रहेको जनाइएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

हाल अध्यक्ष छनौट समितिले कार्यविधि बनाएर काम गरिरहेको र अन्तिम सूचि सार्वजनिक नगरिसकेको अवस्थामा सर्टलिष्टमा परेको भनेर बाहिर आएका नामहरु आधिकारिक नभएको अर्थमन्त्रालयको भनाई छ । अर्थमन्त्रालय स्रोतका अनुसार छनौट समितिले सर्टलिष्टमा परेका पाँच जनाको नाम सार्वजनिक नगरेसम्म कुनै पनि नाम आधिकारिक हुँदैन ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका अभियुक्त मध्येका एक हुन् । लेखा समितिले मिति २०८० पुस १२ गतेको निर्णय अनुसार तत्कालिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र उनको साथमा काम गर्ने कर्मचारीहरुले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति दिने निर्णय भ्रष्टाचार भएको ठहर गर्दै कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखित निर्देशन नै दिएको थियो । हाल सो निर्देशन बमोजिम अनुुन्धान भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम राईले समितिकै बैठकमा जानकारी गराइसकेका छन् ।

भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियारको छानविनमा परिरहेका व्यक्तिको नाम सर्टलिष्टमा प्रकाशित हुँदा अध्यक्ष छनौट कार्यदलकै क्षमतामाथि प्रश्न उठ्नेतर्फ पनि ध्यान दिने हो कि ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*