सर्वोत्तम सिमेन्टको अर्बौ रुपैयाँ आयकर र ७३ करोड विद्युत बक्यौता बल्झिदै, शेयर मूल्यमा दैनिक सर्किट कहिलेसम्म ?

१७ चैत्र २०८०, शनिबार २२:४६

काठमाडौं । कही नभएको जात्रा हाँडीगाउँमा झने झै नेपालको शेयर बजार र अर्थतन्त्रमा कही नभएको जात्रा दैनिक मञ्चन हुने गरेको छ । यस्तैमा एक हो सर्वोत्तम सिमेन्ट । उक्त सिमेन्टले बुक बिल्डिङमा आईपिओ जारी गर्नै नपाउनेमा नेपाल धितोपत्र बोर्डका भ्रष्ट नेतृत्वले अनैतिक र गैर कानुनी तरिकाले बुक बिल्डिङ आईपिओको अनुमति दिएको थियो ।

अनैतिक, भ्रष्टाचार र जनता ठगीबाहेक राम्रो काम फटाफट नहुने देशमा सर्वोत्तम सिमेन्टको काम यति छरितो भयो कि धितोपत्र बोर्डले सरोकारवालाको लिखित निवेदन समेतलाई कुनै बाल मतलव दिएन । अहिले सोही सर्वोत्तम सिमेन्टको मूल्य दैनिक पोजेटिभ सर्किट लागेर बढिरहेको छ । यसरी कहिलेसम्म बृद्धि भइरहन्छ यो अझै अन्योलकै बिषय बन्न पुगेको छ ।

तर, उता सर्वोत्तम सिमेन्ट भने दिनदिनै नयाँ नयाँ विवाद र अर्बौ रुपैयाँको दायित्वमा फस्दैछ । विगत आठ वर्षदेखि सरकारलाई आयकर समेत नतिरी मुनाफालाई पुँजिकरण गरिएको विषय महालेखाको कार्यालयले आफ्नो प्रतिवेदनमा समेट्ने तयारी गर्दैछ । त्यस्तै, भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सरकारी अनुदानको व्यापारिक लाभका लागि गणना गरिएको विषयमाथि गम्भिर अनुसन्धान गर्दैछ ।

चारैतिर अनुसन्धानको घेरामा परेको सर्वोत्तम सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई ७३ करोड ७२ लाख रुपैयाँ बक्यौता नतिरेका कारण कुनै पनि बेला लाइन काटिन सक्ने अवस्थामा पुग्दैछ । भारतबाट महंगो मूल्यमा विद्युत आयात गर्नुपर्ने बाध्यताका बीचमा तरलता समस्या उत्पन्न हुने वित्तिकै बक्यौता रहेको विद्युत रकम उठाउनैपर्ने अवस्थामा प्राधिकरण पुग्नेछ ।

 

राज्यलाई एक सुको पनि आयकर नतिरी कमाएको ६५ करोड रुपैयाँ मुनाफा आव २०७८ सालमा पुँजिकरण गरिएको थियो । सर्वोत्तम सिमेन्टले सो पुँजिकरण गर्दा व्यापारिक लाभका लागि गणना गरेकोले अब उक्त आयकर पुनः हिसाब गरी असुल गर्ने तथा बुक बिल्डिङको नाममा उठाएको रकम राज्यकोषमा दाखिला गर्ने निर्णय भएमा सर्वोत्तम सिमेन्टले चुक्ता पुँजि पाँच अर्बकै हाराहारीमा कर तिर्नुपर्नेछ । यस्तो अवस्थामा कम्पनी टाट पल्टिने मात्र नभई बैंकहरुको अर्बौ रुपैयाँ ऋण समेत डुब्ने अवस्थामा कम्पनी पुग्नेछ ।

लगानीकर्ताहरुले त्यसतर्फ विचारै नगरी सर्वोत्तम सिमेन्टको शेयर किन्न मरिहत्ते गरिरहेका छन् । कुनै निकायले छानविन सुरु गरेको समाचार बाहिर आउने वित्तिकै ह्वात्तै घटाएर लगानीकर्ता नै डुब्ने यो खेल नेपालमा कहिलेसम्म चलिरहन्छ? प्रश्न उठेको छ ।

निकम्बा र भ्रष्टाचारको चास्नीमा डुबेका धितोपत्र बोर्डका भ्रष्ट कर्मचारीहरुलाई जेलको चिसो छिँडीमा नकोच्दासम्म नेपाली शेयर बजारमा सर्वोत्तम सिमेन्ट जस्तै कैंयौं जात्रा व्यहोरिरहनुपर्नेछ । तर, अब लगानीकर्ता पनि सचेत हुने हो कि ?

One thought on “सर्वोत्तम सिमेन्टको अर्बौ रुपैयाँ आयकर र ७३ करोड विद्युत बक्यौता बल्झिदै, शेयर मूल्यमा दैनिक सर्किट कहिलेसम्म ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*