पुल्चोकको सरकारी जग्गा चौधरी ग्रुपले हडप्दा मेयर चिरिबाबुका मामाले समेत लिएका थिए हिस्सा

२१ चैत्र २०८०, बुधबार १७:५४

काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्ने सम्बन्धमा ललितपुर महानगरले कुनै चासो नदेखाएको देखिएको छ ।

महानगरको अघिल्तिर रहेको २०६ वर्ष पूरानो ‘समय फल्चा’ व्यूँत्याएर कुनै समय चर्चा बटुलेका ललितपुर महानगरप्रमुख मेयर चिरिबाबु महर्जन सहकाल वर्षा तथा अन्नदाताका देउता रातो मत्स्येन्द्रनाथको १७ सय वर्ष पूरानो जात्रासँग सम्बन्धित गुठीको महत्वपूर्ण जग्गा फिर्ताको सम्बन्धमा मौन छन् ।

लालीगुराँस सहकारीले भवन निर्माण गर्दा मिचिएको फल्चा अर्थात् एक आना ओगटेको ‘पाटी’ व्यूँत्याउन चिरिबाबुले जसरी भीष्मप्रतिज्ञा गरेर अदालतको चक्कर काटेका थिए, कुनै समय आफैं जनप्रतिनिधि (वडाध्यक्ष)रहिसकेको ३ नम्बर वडास्थित गुठीको सार्वजनिक जग्गा सरकारीकरण गर्नका लागि अघि सरेका छैनन् । उनलाई रातो मत्स्येन्द्रनाथको रथ निर्माण गर्ने ञवा गुठीका गुठीयारहरुले चौधरी ग्रुप अर्थात् जग्गा हत्याउने हिमालयन इन्टरप्राइजेजसँग वार्ताको वातावरण मिलाउन आग्रह गर्दा समेत सुनेनन् ।

मेयर चिरिबाबुले यो कुरामा चासो नदिनुका पछाडि अनेक रहस्य लुकेको बताइएको छ । ञवालहरुका अनुसार चौधरी ग्रुपका संस्थापक विनोद चौधरी चिरिबाबुको राजनीतिक दल कांग्रेसको नेता भएको, सरकारी जग्गा हिमालयन इन्टरप्राइजेजका नाममा दर्ता गर्न कांग्रेसका नेता तथा मन्त्रीहरुले नै बढी दबाब दिएको तथा उनकै नातेदारहरु सरकारी जग्गा किनबेच तथा गैरकानूनी मिलापत्रमा सरिक भएकोलगायत कारणले चुप बसेका हुन् ।

सर्वोच्च अदालतले २०६२ कात्तिक १ गते गरेको आदेश बमोजिम मालपोत कार्यालय ललितपुरले जो जे बुझ्नुपर्दछ सो गर्नु भनी दिएको आदेशको गलत फाइदा उठाएर चोधरी ग्रुपले २०२१ सालमा पर्ति जग्गा हुँदै २०५२ सालमा नेपाल सरकारको नाममा रहेको जग्गा आफ्नो नाममा बनाएको र यसको लागि भाइचा महर्जन समेत ११ जनालाई १९ आना जग्गा दिएर स्थानीयलाई मिलाउन लगाएको ञवा गुठीयारहरुको आरोप छ ।

भाइचा महर्जन ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका आफ्नै मामा हुन्् । आफ्नै मावलीहरु यसमा संलग्न भएका कारण पनि उनले यो विषयमा ध्यान नदिएको ञवालहरुको आरोप छ । चिरिबाबुका मामा भाइचा महर्जनलगायत ११ जनालाई मिलापत्रमा सहयोग गरेबापत चौधरी ग्रुपपले दिएको जग्गामा अहिले घरटहरा निर्माण गरी भाडामा लगाइएको देखिन्छ । भाइचा महर्जनलगायत ११ जना दुई सय ५० जना रहेको मिखबहाल गुठीका गुठीयार हुन् ।

यतिबेला मेयर चिरिबाबु विदेश भ्रमणमा छन् । उनको औपचारिक धारणा आउन बाँकि नै छ । महानगर प्रवक्ता राजु महर्जन भने यो विषय महानगरसँग सम्बन्धित नभएको र मालपोत, गुठीसंस्थानसँग सम्बन्धित भएको बताउँछन् ।

ञवालहरुले तत्कालीन श्री ५ को सरकार र हाल नेपाल सरकारको नाममा रहेको सगोल ४३ नम्बर कित्ता अन्तर्गतको ४ रोपनी ४ आना १ पैसा जग्गा पूर्ववत अवस्थामा फर्काइनु पर्ने अडान राखेका छन् । चौधरी ग्रुपले ठूलो लगानी अर्थात् रकम नोक्सान हुने हिसाब लगाउँदै प्रतिरक्षाको रणनीति लिएको छ । जसका लागि उसले फकाउने र थर्काउने दुबै जुक्ति लगाएको छ ।

ञवालहरुलाई चौधरी ग्रुपले नजिकै रहेको जग्गामा ३ देखि ५ फिटको जग्गा दिएर कुल देवता सार्न आग्रह गरिरहेको छ । यस्तो अवस्थामा यो विषय महानगरसँग सम्बन्धित नभएको भनी महानगर प्रवक्ताले कसरी भन्न सकेका होलान् ?

सम्बन्धित समाचार

चौधरी ग्रुपको घुस खाएर ‘वडा सचिव’ले आफैं ढोग्ने देउता बेचे, अदालतमा वारेस बस्नेले गुठीको जग्गा लुटे

One thought on “पुल्चोकको सरकारी जग्गा चौधरी ग्रुपले हडप्दा मेयर चिरिबाबुका मामाले समेत लिएका थिए हिस्सा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*