कृषि विकास बैंकको नाफासँगै इपीएसमा पनि उछाल, यस्तो छ समग्र वित्तीय अवस्था

७ बैशाख २०८१, शुक्रबार ०८:४७

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बृद्धि भएको हो ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ९७ दशमलव २२ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी सामान्य अंकले बढेर ७ अर्ब २० करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ६ अर्ब २४ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।

बैंकको निक्षेप १ खर्ब ९९ करोडबाट बढेर २ खर्ब २८ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि १ खर्ब ७६ अर्बबाट बढेर १ खर्ब ९६ अर्ब पुगेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४।२० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ३।३० प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि बढेको छ । बैंकको सञ्चालन मुनाफा सामान्य प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा बैंकको यस्तो मुनाफा ५ अर्ब ६ करोड रुपैयाँबाट बृद्धि भई ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

समग्र रुपमा वित्तीय विवरणलाई मध्य नजर गर्दा बैंकको अवस्था सुधार हुदै गएको छ । सरकारी स्वामित्वको उक्त बैंकले व्यवस्थापकीय पक्षको सुधार गरेसँगै बैंकको वित्तीय सूचकहरुमा उल्लेख्य प्रगती देखिएको छ ।

चुक्ता पुँजी १८ अर्ब ८८ करोड रहेको कृषि विकास बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ९० पैसाबाट बढेर १७।९३ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*