सुर्यज्योति लाइफको एउटा निर्णयले सिंगो जीवन बीमा क्षेत्रमा बदनाम, देशैभरिका बीमा अभिकर्ताहरुको चासो

२२ जेष्ठ २०८१, मंगलवार १०:२१

काठमाडौं । सोमबार सुर्यज्योति लाइफले बीमितको निधनपछि बीमा दावी भुक्तानी दिनुको साटो बीमा पोलिसी नै रद्द गरिएको भनेर ठगी गरेको सम्बन्धी समाचार बीमापोष्टमा प्रकाशित भएपछि देशैभरिका बीमा अभिकर्ताहरुले बीमापोष्टमा टेलिफोन गरेर घटनाको बारेमा चासो राख्दै यस्तो घटनाले सिंगो बीमा जगत बद्नाम हुने भन्दै गुनासा गरिरहेका छन् ।

ताप्लेजुङदेखि तराईका बारा, पर्सा मात्रै होइन, कर्णाली प्रदेशको सुर्खेतदेखि धनगढीसम्मका बीमा अभिकर्ताहरुले बीमितको निधनपछि बीमा पोलिसी रद्द गरेको भन्दै बीमा दावी भुक्तानी नदिएको बीमितले बुझाएको रकम समेत बीमा कम्पनीले ठगी गरेको विषयले नेपालको जीवन बीमा क्षेत्रमा कालोदाग लाग्ने भन्दै चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

ताप्लेजुङ्बाट सम्पर्कमा आएका एक जना बीमा अभिकर्ताले बीमितको निधनपछि बीमा पोलिसी रद्द गरेको घटना नेपाली बीमा जगतकै कलंक भएको भन्दै तत्काल बीमा क्षेत्रलाई बद्नाम गराउने तत्वहरुमाथि कारवाही हुनुपर्ने माग गरे । त्यस्तै, धनगढीका बीमा अभकर्ताहरुले पनि गम्भिर चासो व्यक्त गर्दै सो घटनाको तत्काल सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

पेशागत बीमा अभिकर्ता संघका नेता गणेश अभिकारीले बीमितको मृत्युपछि बीमा पोलिसी रद्द गरेको घटना यदि सत्य हो भने बीमा प्राधिकरणले २४ घण्टाभित्रैमा कारवाही गर्नुपर्ने बताए । उनले बीमा कम्पनीहरुले यस्तो गलत निर्णय गर्न थालेमा नेपालको जीवन बीमा व्यवसाय नै धरापमा पर्ने भन्दै तत्काल प्राधिकरणले कठोर कदम चाल्नुपर्ने बताए ।

बीमा अभिकर्ताहरुले पेशागत बीमा अभिकर्ता संघलाई समेत तत्काल सुर्यज्योति लाइफको घटनाको सम्बन्धमा यथार्थ बुझेर औपचारिक धारणा बाहिर ल्याउन माग गरेका छन् ।

बीमितलाई ठगी गर्ने नियतले सुर्यज्योति लाइफले गोनहा, रुपन्देहीकी बीमित सतियादेवी कलवारिनको २०७९ साउन ६ गते निधन भएकोमा २०७९ फागुन ११ गते सात महिनापछि २० लाख रुपैयाँको बीमा पोलिसी नै रद्द गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि पीडितले चौतर्फी रुपमा न्यायको याचना गरिरहेका छन् । बीमा सिद्धान्त विपरित, बीमा ऐन र कानुन विपरितको सो घटनापछि बीमा अभिकर्ताहरुले बीमितको घरमा जाने बाटो नै बन्द हुनसक्ने भन्दै चौतर्फी चासो र चिन्ता व्यक्त भइरहेको हो ।

बीमितको निधनपछि बीमा पोलिसी नै रद्द गरिएको घटनाको सम्बन्धमा नियामक नेपाल बीमा प्राधिकरणका प्रबक्ता सुशिल सुवेदीले बीमितको निधनपछि बीमा पोलिसी रद्द गरिएको घटना हो भने बीमा प्राधिरकणले छानविन गर्ने बताए । ‘बीमितको निधनपछि बीमा पोलिसी नै रद्द भएको हो भने त्यो छानविनको विषय हो । यो घटनाको बीमा प्राधिकरणले तत्कालै छानविन गर्छ’ प्रबक्ता सुवेदीले भने ।
उता, सुर्यज्योति लाइफले भने कुनै प्रतिक्रिया दिन चाहेको छैन । सूचना अधिकारी उमेश मैनाली सम्पर्कमा आएनन् ।

सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द

 

2 thoughts on “सुर्यज्योति लाइफको एउटा निर्णयले सिंगो जीवन बीमा क्षेत्रमा बदनाम, देशैभरिका बीमा अभिकर्ताहरुको चासो

  1. Pralhad Bhakta Pandey says:

    बीमा गर्दा बीमितले पनि आयस्राेत खुलाउनु पर्थ्याे । नक्कली कागज बनाएर आयस्राेत देखाउन हुदैनथ्याे । यहाँ बिमितले नै बीमाकाे परम् सद्विस्वासकाे सिद्धान्त पालना गरेकाे देखिदैन । पत्रकारले समाचार सम्प्रेषण गर्दा बीमितकाे पक्षमा मात्र नभइ यथार्थमा आधारित भएर गर्नु पर्दछ।

  2. Tiger Puri says:

    जीवन बिमा कम्पनी का ceo हरु बदमाश चोर हुन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*