बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी

३२ जेष्ठ २०८१, शुक्रबार २०:५६

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री वितरण भइरहेको बिवाईडी गाडीले दुई अर्बभन्दा बढि कर छली गरेको तथ्य फेला परेको छ । बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी न्यून कर तिरेर कर छली गरेको हो ।

बिवाईडीको एटिटिओ ३ गाडीमा १५० किलोवाटको मोटर रहेको भएपनि ढाँटेर १०० किलोवाट भन्दै कर छली गरेको थियो । नेपालमा सो गाडी सर्वाधिक बिक्री हुने गाडीभित्र पर्दछ ।

आव २०८०।८१ को भन्सार महसुल अनुसार १०० किलोवाट इभी गाडीमा जम्मा १५ प्रतिशत भन्सार १० प्रतिशत अन्तशुल्क मात्रै लाग्दछ । त्यस्तै, सो इभी गाडीमा १५० किलोवाटको मोटर क्षमता अनुसारको भन्सार महसुल २० प्रतिशत र २० प्रतिशत अन्तशुल्क तिर्नुपर्दछ । यसरी साईमेक्स इन्कले बिवाईडीका एउटै गाडीमा १५ प्रतिशत भन्सार शुल्क छली गरेको थियो । भन्सार छलीका लागि बिवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले भन्सारमा झुठो विवरण पेश गरेको थियो । झुठो विवरण पेश गरी गाडी नेपाल भित्राएर उपभोक्तालाई बिक्री गरे पनि सो बापतको थप कर भने गाडी आयात गर्ने कम्पनीले तिर्नुपर्ने भएको छ ।

बिवाईडीकी यमुना श्रेष्ठ कर छलीबारे पत्रकारले जिज्ञाशा राख्न थालेपछि तनाव भएर फोन उठाउनै छोडेकी छिन् । भन्सार कार्यालयमा झुठो विवरण पेश गरेर भित्राएको गाडी सम्बन्धमा भन्सार कार्यालयले छानविन सुरु गर्नुपर्नेमा ढिलाई गरिरहेको छ । भन्सार विभागका प्रबक्ता पुण्य बिक्रम खड्काले नयाँ आयात गर्ने गाडीको सम्बन्धमा बुझेर थप अध्ययन गरेर, सचेत भएर जाँचपास गर्न निर्देशन दिएको स्वीकार गर्दै बिक्री भइसकेको गाडीमा छानविन सुरु नभएको बताए ।
भन्सार विभाग स्रोतका अनुसार विवरण ढाँटेर भन्सर छली गरी भित्राएका गाडीहरुको थप कर असुल गर्ने विषयमा बिवाईडी सहितका गाडी कम्पनीहरुले सेटिङ हानेर थप छानविन रोक्न पहल गरिरहेका छन् । सो कार्यमा बिवाईडीले राम्रो खर्च गरेको स्रोतको दावी छ । प्रारम्भिक अनुमान अनुसार बिवाईडीले दुई अर्ब भन्दा बढि कर छली गरेको छ ।

बिवाईडीको आधिकारिक वेभसाइटमा राखिएको बिवाईडी एटिटिओ ३ गाडीको स्पेशिफिकेशन ।

 

नेपालस्थित बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कको वेभसाइटमा राखिएको झुठो विवरण ।

बिवाईडीको डल्फिनसहितका मोडलमा जडित मोटरको क्षमता सम्बन्धी विवरण वास्तविक भन्दा कम देखाएर कर छली गरेको थियो । इभी गाडीहरुले कर छली गरेको सम्बन्धमा गत जेठ १६ गते अर्थमन्त्रालयमा बजेट सम्बन्धी पत्रकार सम्मेलनमा राजश्व सचिव राम प्रसाद घिमिरेले समेत स्वीकार गरेका थिए । सो विषयमाथि छानविन रोक्न बिवाईडीले पहल गरिरहेको छ ।

उता, भन्सार विभागले भने बिवाईडीसहितका गाडीहरुमा जडित १५० किलोवाट मोटर क्षमतालाई १०० किलोवाट मात्रै भनेर ढाँटेर कर छली गरेको सम्बन्धमा छानविन गर्न आनाकानी गरिरहेको छ । भन्सार विभागले सकेसम्म बिक्री भइसकेको गाडीको छानविन नगर्ने मनस्थितिमा रहेको बताइन्छ । बिक्री गर्दा उपभोक्ता मूल्य सूचि सार्वजनिक भई सोही बमोजिमको कर असुल भइसकेकोले थप निर्धारण गर्न अप्ठेरो पर्ने तर्क गरिरहेको छ । तर, राजश्व अनुसन्धान विभागले भने भन्सार विभागले बिनाशर्त छानविन गर्नुपर्ने र ढाँटेर कर छली गरेको भएमा भन्सारले नै थप कर असुल गर्न सक्ने बताएको छ ।

बिवाईडी गाडीले कर छली गरेको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा सञ्चालक यमुना श्रेष्ठ सम्पर्कमा आउन चाहिनन् ।

बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्

उता, भन्सार विभागले गत जेठ ४ गते सबै मातहतका भन्सार कार्यालयलाई लेखेको पत्रमा विद्युतीय गाडीका आयातकर्ताले झुक्याएर भन्सार छली गर्न सक्ने भन्दै सचेत भएर भन्सार शुल्क असुल गर्न निर्देशन दिएको छ ।

3 thoughts on “बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*