शिखर नगरपालिकाद्वारा चैते धानको बीउमा अनुदान कार्यक्रमको लागि आवेदन खुला

काठमाडौँ । शिखर नगरपालिकाले उत्पादनमा आधारित चैते धानको बीउमा अनुदान कार्यक्रमको लागि आवेदन खुला गरेको छ । कृषि विकास शाखाको आ.ब. २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाभित्रका इच्छुक कृषक, कृषि फार्म, कृषक समूह, र कृषि सहकारीहरूले आवेदन दिन सक्नेछन् ।
अनुदानको लागि आवेदन दिने इच्छुकहरूले यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अर्थात् फागुन १४ गतेसम्म आवश्यक कागजातसहित शिखर नगरपालिका कृषि विकास शाखामा आवेदन दिनुपर्नेछ । म्याद नाघि आएका र प्रमाण नपुगेका निवेदनहरूमा कुनै कारवाही नगरिने जनाइएको छ ।
व्यक्तिगत कृषकहरूले आवेदनसहित नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ । कृषक समूह, कृषि सहकारी, र कृषि फार्महरूले दर्ता प्रमाणपत्रको प्रतिलिपि, निर्णयको प्रतिलिपि, तथा जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
नगरपालिकाले कृषकहरूको उत्पादन क्षमता बढाउन र कृषिमा आत्मनिर्भरता कायम गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको हो । यसले कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।