भेस्पा र अप्रिलियाका स्कुटर खरिद गर्दै हुनुहुन्छ भने होसियार! पार्ट्स नपाएर महिनौसम्म हुन्छ हैरानी

१७ बैशाख २०८२, बुधबार १६:०९

काठमाडौँ । नेपाली बजारमा प्रिमियम स्कुटरको रूपमा पहिचान बनाएका भेस्पा र अप्रिलिया स्कुटर पछिल्ला दिनहरूमा ग्राहकका लागि समस्या र असन्तोषको पर्याय बन्न थालेका छन्। डिजाइन, ब्रान्ड र गुणस्तरको नाममा उच्च मूल्य तिरेर खरिद गरिएका यस्ता स्कुटरको पछिल्लो अवस्था भने चिन्ताजनक देखिएको छ। न समयमै मर्मत सुविधा, न आवश्यक पार्ट्सको उपलब्धता झन्  डिलरशिप परिवर्तनले उपभोक्तामा थप हैरान थपिएको छ ।

एक समयको आकर्षक ब्रान्ड आज उपभोक्तामाझ अविश्वासको कारण बन्न थालेको छ। लगातार डिलर परिवर्तन हुनु, सेवा प्रवाहमा एकरुपता नहुनु, ग्राहकको गुनासोप्रति गम्भीर ध्यान नदिनु र पाट्स नपाएर महिनौंसम्म सवारी साधन थन्किनुजस्ता समस्याले भेस्पा र अप्रिलिया प्रयोगकर्ताहरू निराश छन्। उपभोक्ताका लागि सामान्य समस्या देखिएको स्कुटर मर्मत गर्न समेत लामो समय पर्खनुपर्ने अवस्था सिर्जना हुन थालेको छ। त्यो पनि आवश्यक पाट्स उपलब्ध नभएको कारणले।

नेपाली बजारमा सुरुमा डी–लाइफस्टाइल प्रालिले भेस्पा र अप्रिलियाको आधिकारिक विक्रेता भएर काम गर्‍यो। त्यसपछि यो ब्रान्ड दुगड ग्रुपको मातहतमा गयो, जहाँ दुगड ब्रदर्स एन्ड सन्सले करिब तीन वर्षसम्म स्कुटरको बिक्री र सेवा प्रवाह गर्‍यो। तर सन्तोषजनक व्यापारिक रणनीति अपनाउन नसक्दा यो जिम्मेवारी उनीहरूबाट खोसियो। २०८० सालको बैशाखदेखि भने डिलरशिप डेल्टा अटोकर्प प्रालिलाई दिइएको छ, जुन भीमसरिया ग्रुप अन्तर्गतको कम्पनी हो।

तर नयाँ डिलरले पनि बजारमा प्रभाव जमाउन सकेको छैन। स्कुटर बिक्रीका लागि डेल्टा अटोकर्पले विभिन्न अफर र योजना ल्याइरहे पनि अपेक्षित परिणाम आउन सकेको छैन। सस्तो ब्याजदरमा स्कुटर उपलब्ध गराउनेदेखि लिएर सटहीमा पुराना स्कुटर ल्याउने ग्राहकलाई बोनस मूल्यांकन दिने, नगद खरिदमा छुट दिने, निःशुल्क हेल्मेट, स्कुटर कभर, फुटम्याट प्रदान गर्ने योजना बजारमा ल्याइए पनि उपभोक्ताको आकर्षण त्यति देखिएको छैन।

विशेषतः दुगड ग्रुपको समयमै खरिद गरिएका स्कुटरको हकमा अहिले मर्मतको जिम्मेवारी कसले लिने भन्ने अन्योल छ। डेल्टा अटोकर्पले ती स्कुटरको मर्मत गर्न आनाकानी गर्छ भने ग्राहकले कतिपय अवस्थामा सामान्य पार्ट्सको लागि समेत विदेशबाट मगाउनुपर्ने अवस्था छ। डिलरशिप परिवर्तनसँगै पहिलाको सेवा नेटवर्क विच्छेद हुँदा ग्राहक बीचमै अलपत्र परेका छन्।

कुनै पनि सवारीसाधनको दीर्घकालीन सफलताको मूलमा ‘बिक्रीपछिको सेवा’ हुन्छ। तर भेस्पा र अप्रिलियाको हकमा त्यसको अभाव स्पष्ट देखिएको छ। डिलरहरूले एकअर्कालाई जिम्मा थोपार्ने प्रवृत्तिले गर्दा ग्राहकलाई मर्का परेको छ। सेवा केन्द्र पुग्दा भनिन्छ, ‘यो स्कुटर हाम्रो डिलरशिपको होईन’, ‘पाट्स छैन’, ‘दुगडको स्कुटर हामीले हेर्दैनौं’ । यस्तो व्यवहारले एकातिर कम्पनीको ब्रान्ड मूल्य घटेको छ भने अर्कोतिर ग्राहकले आफू ठगिएको महसुस गरिरहेका छन्।

यति मात्र होइन, उपलब्ध पार्ट्स पनि बजारमा निकै महँगो छ। सामान्य ब्रेक प्याड, क्लच वायर, साइड मिरर, गियरबक्स वा डेक्सलको पाट्स समेत ३–४ गुणा बढी मूल्यमा ग्राहकले किन्न बाध्य छन्। कतिपय ग्राहकले सर्भिस सेन्टरमा गएर साधारण काम गर्न खोज्दा समेत हजारौं रुपैयाँ तिर्नुपरेको अनुभव सुनाएका छन्। ‘१५ हजारको स्कुटर पार्ट्स ३० हजार खर्चिनु पर्ने हो भने, नयाँ किनिएको के फाइदा?’ एक उपभोेक्ताले गुनासो गरे ।

कम्पनीले केही चुनिएका सर्भिस सेन्टरहरू तोकेको भए पनि त्यहाँको सेवा स्तर पनि असन्तोषजनक छ। दक्ष मिस्त्रीको अभाव, समयमै काम नहुनु, स्कुटर लिएर जाँदा पटक–पटक धाउनुपर्ने जस्ता समस्या ग्राहकले भोग्नुपरेको छ। बुटवलका राम बहादुर जोशिले भने, ‘स्कुटरको ब्रेकमा समस्या देखिएपछि सर्भिस सेन्टर लगेँ । तर एकदुई दिनमा बन्छ बनेको दुई साता लग्यो । पार्ट्स सर्भिस सेन्टरमा हुँदैन काठमाडौँमा मात्रै छन् रे ।’

यी सबै समस्याले गर्दा नयाँ उपभोक्ताले अब भेस्पा र अप्रिलियाप्रति विश्वास गर्न छाड्दै गएका छन्। बजारमा यिनीहरूको प्रतिस्पर्धी ब्रान्डहरू यामाहा, टिभिएस, सुजुकी, होन्डा जस्ता स्कुटरहरू छिटोछरितो सेवा, सहज पार्ट्स र बलियो डिलर नेटवर्कका कारण लोकप्रिय छन्। भेस्पा र अप्रिलियाको मूल्य त झन् ती स्कुटरको तुलनामा २०–३० प्रतिशत महँगो छ। जब महँगो मूल्य तिरेर पनि सेवा र पार्ट्स नपाइने अवस्था आउँछ, तब उपभोक्ताले अर्को विकल्प रोज्नु स्वाभाविक हुन्छ।

हाल बजारमा कम्पनीले सस्तो ब्याजदरमा स्कुटर उपलब्ध गराउने, पुरानो स्कुटर साट्ने, नगद छुट दिने जस्ता योजना ल्याइरहे पनि समस्याको जडमा हात हाल्न सकेको छैन। डिलरशिप स्थायित्व, सेवा केन्द्र विस्तार, पार्ट्स उपलब्धता र ग्राहक अनुकूल मर्मत सुविधा नै कम्पनीको दीर्घकालीन सफलता सुनिश्चित गर्ने कुरामा कम्पनी बेखबरजस्तो देखिन्छ। यसरी हेर्दा, भेस्पा र अप्रिलियाको स्कुटर अहिले बजारमा बचेको ब्रान्ड इमेजकै भरमा चलिरहेको छ, तर त्यो पनि धुमिल बन्दै गएको छ। ग्राहकका नजरमा कुनै पनि ब्रान्ड त्यो बेला बलियो हुन्छ जब बिक्रीपछि पनि कम्पनीले साथ दिन्छ। त्यो साथ नपाउँदा उपभोक्ताको भरोसा मात्र गुम्दैन, ब्रान्ड नै संकटमा पर्छ।

One thought on “भेस्पा र अप्रिलियाका स्कुटर खरिद गर्दै हुनुहुन्छ भने होसियार! पार्ट्स नपाएर महिनौसम्म हुन्छ हैरानी

  1. सञ्जाल says:

    हामीले किनेर कुदाइरहेकै छौँ त । विज्ञापन पाइएन जस्तो छ !!!

Leave a Reply to सञ्जाल Cancel reply

Your email address will not be published. Required fields are marked *


*