नेपाल लाइफलाई ऐतिहासिक सफलता, कसरी सम्भव भयो वर्षदिनमै १० अर्बको नयाँ व्यवसाय ?

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रको अग्रणी भूमिकामा रहेको नेपाल लाइफ इन्स्योरेन्सले ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरी जीवन बीमा क्षेत्रमै वर्षदिनमा सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गर्ने पहिलो कम्पनी बनेको रेकर्ड कायम गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब २२ करोड रुपैयाँको नयाँ व्यवसाय गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको नयाँ व्यवसाय २२ प्रतिशतले बृद्धि भएको छ । नेपाल लाइफमा कार्यरत सम्पूर्ण कर्मचारीको शतप्रतिशत कार्यसम्पादन र व्यवसायीक रणनीति तथा अभिकर्ताको सक्रियताले सो सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद व्यक्त गरेका छन् ।
उनले भने, ‘नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ।’
नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको बताए ।

नेपाल लाइफ इन्स्योरेन्सका नेशनल सेल्स हेड उमापति पोखरेलले उत्कृष्ट तथा कुशल प्रशासन र व्यवस्थापकहरुको सही मार्ग निर्देशनले कम्पनीले नयाँ व्यवसाय आर्जनमा ऐतिहासिक सफलता हासिल गर्न सफल भएको बताए ।
‘एजेन्सीहरुको सेल्स स्कील र कम्पनीले ल्याएका विभिन्न स्कीम तथा एजेन्सीहरुलाई आवश्यक पर्ने विभिन्न तालिमले गर्दा व्यवसाय बृद्धि भएको छ । सम्पूर्ण प्रदेश प्रमुख तथा शाखा, उपशाखामा रहेका कर्मचारी र अभिकर्ताहरुको लगातारको संघर्षले यो इतिहास रच्न नेपाल लाइफ सफल भएको छ ।’ नेशनल हेड पोखरेलले भने । उनले सम्पूर्ण कर्मचारीहरु र अभिकर्ताको शत प्रतिशत कार्यसम्पादनले नेपाल लाइफले नयाँ रेकर्ड कायम गरेको बताए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ केन्द्रिय समितिका महासचिव ओम केशीले कम्पनीका उत्कृष्ट व्यवस्थापन र अभिकर्ताबीचको व्यापक छलफल, सहकार्य तथा आपसी समझादारीमा ल्याएका विभिन्न व्यवसायीक स्कीमहरुले १० अर्ब बढीको नयाँ व्यवसाय आर्जन गर्न सफल भएको बताए ।
उनले भने, ‘हाम्रो कम्पनीमा अभिकर्ता र व्यवस्थापकबीच उत्कृष्ट सहकार्य रहेको छ । कम्पनीका विभिन्न योजनामा समेत अभिकर्तासँगको छलफल र समिक्षापछि मात्र आउने गर्दछ । नेपाल लाइफमा अभिकर्ता र व्यवस्थापकबीच रहेको कोर टीमले विभिन्न समयमा तालिम, योजना तथा अभिकर्ता पुनर्ताजगी लगायतका कार्यहरु सञ्चालन गर्ने र त्यसको समीक्षा गर्ने गरेको छ । जसको नतिजा आजको सफलता हो ।’
हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १७ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । कम्पनीमा आवद्ध भएका लाखौं बीमा अभिकर्ताहरुले नागरिकहरुको बीमा गरेर उनीहरुको जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । अभिकर्ताहरुले यस कम्पनीका विभिन्न पोलिसी बिक्री गर्दै आएका छन् ।














सबैमा नमस्कार अबो यो सबै सफलता पाउदै गर्दा अभिकर्ता को हक हितको लागि पनि केही बोनस बडाउनु पर्यो कम्पनीले