रास्वपाका मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न माग, संसदीय समितिमा विषय उठ्यो

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रीहरूको सम्पत्ति छानबिनसम्बन्धी विषय उठेको छ । बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले मन्त्रीहरूले सार्वजनिक गर्ने सम्पत्ति विवरणमाथि तथ्यपरक छानबिन हुनुपर्ने माग गरेका हुन् ।
उनले मन्त्रीहरूले सार्वजनिक गर्ने सम्पत्ति विवरण मात्र पर्याप्त नभएको भन्दै त्यसको वास्तविक स्रोत, कर तिरिएको अवस्था र आयको वैधानिकता स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याए । उनले सम्पत्ति विवरण सार्वजनिक हुनु मात्रै सुशासनको आधार नभएको टिप्पणी गर्दै प्रश्न गरे, ;मन्त्री हुनासाथ सम्पत्ति विवरण त आउँछ, तर त्यो सम्पत्ति कहाँबाट आयो ? त्यसको कर तिरिएको छ कि छैन ? आयस्रोत के हो ? यी प्रश्नको उत्तर नखोजी सुशासनको गफ गर्नु बेकार छ।’
कर्णले मन्त्रिपरिषद्का सदस्यहरू नै शंकाको घेरामा रहने अवस्था रहेसम्म जनतामा सुशासनप्रतिको विश्वास स्थापित हुन नसक्ने बताए । सरकारका उच्चपदस्थ पदाधिकारीहरूमाथि पारदर्शिता र जवाफदेहिताको कडा अभ्यास आवश्यक रहेको तर्क राखे ।
उनले पछिल्लो समय युवा पुस्ताले संसद् र राजनीतिक नेतृत्वलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको उल्लेख गर्दै त्यो विश्वास पुनःस्थापित गर्न गम्भीर सुधार आवश्यक रहेको धारणा राखे ।











