विद्युत प्राधिकरणले उद्योगीलाई बक्यौता तिर्न पठायो पत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलअन्तर्गत बाँकी बक्यौता तिर्न उद्योगीहरूलाई पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार करिब १९ वटा उद्योगलाई एक साताअघि नै किस्ताबन्दीमार्फत बक्यौता भुक्तानी गर्न आग्रह गर्दै पत्र पठाइएको हो।
उनले यो प्रक्रिया नियमित बक्यौता असुलीअन्तर्गतकै प्रयास भएको स्पष्ट पारे। शाक्यका अनुसार पत्रमा उद्योगीहरूलाई किस्ताबन्दीमा रकम बुझाउन आग्रह गरिएको भए पनि तत्काल लाइन काट्ने विषय उल्लेख गरिएको छैन। पुरानो बक्यौता उठाउन पहल गरिएको भन्दै उनले अहिलेको अवस्थामा लाइन काट्नेबारे कुनै निर्णय नभएको र यस्तो निर्णयका लागि ऊर्जामन्त्रीको सहमति आवश्यक पर्ने बताए।
विवादित महसुलका सम्बन्धमा पुनरावलोकन समिति गठन गर्ने विषयमा प्राधिकरणले कानुनी परामर्श लिइरहेको छ। अघिल्लो सञ्चालक समितिका निर्णयका कारण सिधै बोर्डमा प्रस्ताव लैजान नमिल्ने अवस्था रहेको जनाउँदै शाक्यले कानुनी रायपछि मात्रै प्रक्रिया अघि बढ्ने जानकारी दिए। कानुनी स्पष्टता प्राप्त भएपछि सोही आधारमा सञ्चालक समितिले थप निर्णय गर्ने उनको भनाइ छ।











