सस्तोमा डलर साटिदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । काठमाडौंमा सस्तो दरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्दै आएका सिन्धुपाल्चोकका ६० वर्षीय पालसङ तामाङ र काठमाडौं मुलपानी बस्दै आएका ४७ वर्षीय पदमलाल श्रेष्ठ रहेका छन्।
उनीहरूले अमेरिकी डलर देखाएर सस्तोमा साटिदिने प्रलोभन दिएका थिए। त्यसपछि पीडितलाई भक्तपुरको चाँगुनारायण मन्दिर नजिकैको जंगलमा १० लाख रुपैयाँ नगद लिएर आउन भनेका थिए।
घटनाको जानकारी पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई चाँगुनारायण नगरपालिका–४ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।











