एसियन बिस्कुटमा रौं भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उपभोक्ताबाट उजुरी परेको थियो । उक्त उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले उद्योगको उत्पादन स्थलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले उजुरी परेको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । प्रयोगशाला परीक्षणपछि कैफियत पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३५ को खण्ड ‘ङ’ बमोजिमको कसुर देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ‘ख’ अनुसार उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार जरिवाना बापतको रकम सात दिनभित्र सरकारी खातामा दाखिला गरी सोको प्रमाण पेश गर्न उद्योगलाई निर्देशन दिइएको छ ।











