डेरावालाको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध

काठमाडौं । डेरामा बस्ने व्यक्तिहरुको विवरण अद्यावधिक गरेर राख्न घरधनीलाई प्रहरीले अनुरोध गरेको छ । अपराध नियन्त्रण र अनुसन्धानलाई सहज बनाउन यस्तो अभ्यास आवश्यक रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार पछिल्लो समय डेरामा बस्ने व्यक्तिहरूको पहिचान स्पष्ट नहुँदा अनुसन्धानमा कठिनाइ हुने गरेको छ । अपराध भइसकेपछि मात्र सम्बन्धित व्यक्तिको वास्तविक विवरण खोज्नुपर्ने अवस्था आउने भएकाले पूर्वसावधानीस्वरूप विवरण राख्न आग्रह गरिएको उनले बताए ।
एउटै घरमा वर्षौँसम्म डेरामा बस्ने भए पनि घरधनीसँग उनीहरूको पूर्ण विवरण नहुने अवस्था देखिएको छ । जसका कारण कुनै व्यक्ति अपराधमा संलग्न भएमा वा अनुसन्धानको क्रममा सोधपुछ गर्नुपर्ने अवस्थामा घरधनीलाई समेत पर्याप्त जानकारी नहुने समस्या देखिएको उनले बताए ।
घरधनीले आफ्ना डेरावालाको नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर, पेशा तथा अन्य सामान्य परिचयात्मक विवरण राखेमा आवश्यक परेमा अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।











