सर्वसाधारणले खाने चामलमा विषादी

७ बैशाख २०८३, सोमबार ०७:५५

काठमाडौं । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो। मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा गरिएको सर्वेक्षण तथा जिल्लाका ५० जना कीटनाशक बिक्रेता र धान व्यापारीसँग गरिएको अन्तर्वार्ताबाट यस्तो नतिजा आएको हो।

प्रतिवेदनले काठमाडौं, भक्तपुर र ललितपुरबाट संकलित चामलका नमुनामा कीटनाशक अवशेषको अवस्था पनि परीक्षण गरेको थियो। परीक्षणमा झण्डै ८३ प्रतिशत चामलमा कुनै न कुनै प्रकारको विषादीको अवशेष भेटिएको छ जसमध्ये करिब ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीको अवशेष भेटिएका छन्। काठमाडौंका नमुनामा अन्य जिल्लाभन्दा बढी र उच्च मात्रामा अवशेष भेटिएको उल्लेख गरिएको छ भने बासमती चामलमा यस्तो अवशेष बढी देखिएको छ। विषादीको अवशेषको मात्रा ५.०९ माइक्रोग्राम प्रतिकिलोदेखि ३१२.५४ माइक्रोग्राम प्रतिकिलोसम्म पाइएको छ भने औसत २२.१३ माइक्रोग्राम प्रतिकिलो रहेको प्रतिवेदनले जनाएको छ।

ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोल सबैभन्दा बढी भेटिएका कीटनाशक हुन् भने एलुमिनियम फस्फाइड र क्लोरपाइरिफोसजस्ता प्रतिबन्धित तथा विषालु पदार्थको प्रयोगसमेत अझै भइरहेकामा प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ। यद्यपि यस्ता अवशेष भएको चामल खानाले तत्काल स्वास्थ्यमा ठूलो जोखिम भने नदेखिएको प्रतिवेदनको निष्कर्ष छ। जोखिम मूल्यांकन गर्दा हाजार्ड कोटिएन्ट र हाजार्ड इन्डेक्स दुवै १ भन्दा कम रहेकाले हालको अवस्थामा उपभोगबाट हुने जोखिम ठूलो नरहेको जनाइएको छ।

प्रतिवेदनले भविष्यमा खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारको कडा नीतिगत हस्तक्षेप आवश्यक रहेको पनि औंल्याएको छ। विशेष गरी प्रतिबन्धित कीटनाशकको अवैध प्रयोग रोक्न कानुनी कार्यान्वयन कडा बनाउन र चामलमा कीटनाशक अवशेषको नियमित अनुगमन गर्न सुझाव दिएको छ।  प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल र भारतको काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्चले नेपालको धानमा विषादीको प्रयोग र सुरक्षित व्यवहारः योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*