यूएई जाने नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत कारबाहीमा

७ बैशाख २०८३, सोमबार १४:२४

काठमाडौँ । यूएई जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ।

प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो। उनीहरुको विवरण भने खुलाइएको छैन ।

विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विवाद बाहिर आएको थियो । सोही विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो।

नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*