राताम्य पुँजी बजारः लगानीकर्ताको डु्ब्दै लगानी, माफिया बाहिरिदा कारोबार घटेको हो ?

७ बैशाख २०८३, सोमबार १५:०४

काठमाडौँ । नेप्से परिसूचकमा निरन्तर गिरावट आउँदा पुँजीबजार राताम्य बनेको छ । बजार ओरालो लागेसँगै लगानीकर्तामा निराशा बढेको देखिन्छ । विशेषगरी निजी क्षेत्रका कारोबारमाथि नियामक निकायको निगरानी कडा हुन सक्ने आशंका र नीतिगत अनिश्चितताका कारण छोटो अवधिका लगानीकर्तामा बिक्री चाप बढ्दा बजारमा तीव्र गिरावट देखिएको हो । दिनभरजसो बिक्री दबाब हाबी हुँदा अधिकांश समूहगत सूचकहरू पनि कमजोर बनेका छन् भने कारोबार रकमसमेत सुस्त बनेको छ ।

यसैबीच केही व्यवसायी तथा लगानीकर्तासम्बन्धी पक्राउ तथा अनुसन्धानका समाचारहरूले पनि बजार मनोविज्ञानमा प्रभाव पारेको विश्लेषण गरिएको छ । यस्ता घटनाले अनिश्चितता बढाएको भन्दै केही लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । बजार सहभागीहरूको एक हिस्साले ठूला तथा प्रभावशाली लगानीकर्ताको निष्क्रियता वा बजारबाट बाहिरिने प्रवृत्तिले साना लगानीकर्तामा समेत दबाब सिर्जना भएको टिप्पणी गरेका छन् । परिणामस्वरूप बजारमा अपेक्षित सुधार आउन नसकेको र कारोबार गतिविधि थप सुस्त बनेको देखिन्छ ।

यसैबीच आजदेखि धितोपत्र कारोबार प्रणालीमा लागू भएका नयाँ व्यवस्थाले बजार संरचनामा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधन गर्दै सर्किट ब्रेकर, प्रि–ओपन सेसन, मूल्य उतारचढाव सीमा तथा नयाँ अर्डर प्रणालीमा परिमार्जन गरिएको हो । संशोधित व्यवस्थाअनुसार अब दैनिक मूल्य उतारचढाव सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको छ भने प्रि–ओपन सेसनमा ५ प्रतिशतसम्म मूल्य परिवर्तन गर्न सकिने व्यवस्था लागू भएको छ । त्यस्तै, सर्किट ब्रेकर प्रणालीमा पनि समय र सीमा दुवैमा संशोधन गर्दै बजारलाई बढी लचिलो र गतिशील बनाउने प्रयास गरिएको छ ।

यसबाहेक पहिलोपटक ‘अफ्टर मार्केट अर्डर’ प्रणाली लागू हुने तयारीले पनि बजारमा नयाँ अभ्यासको सुरुवात गरेको छ । कारोबार समय सकिएपछि पनि अर्डर राख्न सकिने यस व्यवस्थाले लगानीकर्तालाई थप सुविधा र रणनीतिक निर्णयको अवसर दिने अपेक्षा गरिएको छ ।

यद्यपि, बजारले तत्काल सकारात्मक प्रतिक्रिया नदिएको देखिए पनि विश्लेषकहरू भने दीर्घकालीन रूपमा आधारभूत आर्थिक सूचकहरू सुधारोन्मुख रहेको बताउँछन् । ब्याजदरमा आएको गिरावट, वित्तीय प्रणालीमा देखिएको स्थायित्व र अर्थतन्त्रका प्रमुख सूचकहरूको सुधारले पुँजीबजारलाई भविष्यमा मजबुत आधार दिने उनीहरूको मूल्यांकन छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.१७ अकंले घटेर २८२५.२३ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक नै राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको शेयर मूल्य मात्रै १.०१ प्रतिशतले बढेको हो ।

सोमबार ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*