अख्तियारले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित हिमाल तराई कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तामाङ चन्द्रबहादुर अधिकारीसहित प्रतिवादी रहेको घुस/रिसवत सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका थिए । तर आयोगका अनुसार उनले अनुसन्धान अधिकृतसमक्ष गरेको प्रारम्भिक बयानसँग विपरीत हुने गरी विशेष अदालतमा बकपत्र गरेपछि उनीविरुद्ध नै कानुनी कारबाही अघि बढाइएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङले अदालतमा गरेको बकपत्र प्रतिकूल देखिएपछि उनीमाथि छुट्टै मुद्दा दायर गरिएको हो । आयोगले उनलाई ५ लाख रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ ।
pzeY6V










