शैक्षिक संस्थाहरूमा विद्यार्थी संगठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन्। उनले कुनै पनि बहानामा शैक्षिक संस्थाहरूमा राजनीतिक गतिविधि स्वीकार्य नहुने स्पष्ट अडान लिँदै उक्त संरचना हटाउने निर्णयलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूलाई सोमबार निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिहरूसँग करिब साढे तीन घण्टा लामो छलफल गर्दै उनले शैक्षिक संस्थाहरूलाई पूर्ण रूपमा शैक्षिक वातावरणमै केन्द्रित राख्नुपर्नेमा जोड दिए। छलफलका क्रममा उपकुलपतिहरूले जेनजी आन्दोलनपछि विद्यार्थीका राजनीतिक गतिविधि केही सुस्त भएको र यस्ता संगठनहरू हटाउने विषयमा आन्तरिक रूपमा पहल भइरहेको जानकारी दिएका थिए।
उपकुलपतिहरूले विश्वविद्यालय र प्रतिष्ठानहरूको प्रभावकारी सञ्चालनका लागि जग्गा प्राप्ति, दक्ष जनशक्ति व्यवस्थापन र आवश्यक स्रोतसाधन उपलब्ध गराउने विषयमा सरकारको सहयोग आवश्यक रहेको अपेक्षा पनि व्यक्त गरेका थिए। उनीहरूले संरचनागत तथा प्रशासनिक समस्या समाधान नभएसम्म शैक्षिक सुधार अपेक्षित रूपमा अघि बढ्न कठिन हुने धारणा राखेका थिए।
प्रधानमन्त्री शाहले भने सरकार यी सबै समस्याको समाधानका लागि आवश्यक कदम चालिरहेको र सुधारका कार्यहरू सुरु भइसकेको जानकारी दिएका छन्। उनले विश्वविद्यालयहरूलाई स्वायत्त, निष्पक्ष र राजनीतिक प्रभावबाट मुक्त बनाउनु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै दीर्घकालीन सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।











