वैदेशिक व्यापार १७ खर्ब नाघ्यो, निर्यात बढे पनि घाटा १२ खर्ब ६७ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवै बढे पनि आयातको उच्च वृद्धिका कारण व्यापार घाटा थप विस्तार भएको देखिएको हो ।
समीक्षा अवधिमा नेपालले १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले वृद्धि हो । गत वर्ष यसै अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो ।
निर्याततर्फ भने उल्लेख्य सुधार देखिएको छ । गत वर्षको १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको तुलनामा यस वर्ष निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
तर, निर्यातमा वृद्धि भए पनि आयातको ठूलो आकारका कारण व्यापार घाटा निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको नौ महिनामा नेपालको व्यापार घाटा १३.०४ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । गत वर्ष यसै अवधिमा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ थियो ।
तथ्याङ्क अनुसार कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने केही सुधारिएको छ । गत वर्ष १२.५७ प्रतिशत रहेको निर्यातको हिस्सा यस वर्ष बढेर १३.०१ प्रतिशत पुगेको छ । सोही अवधिमा आयातको हिस्सा ८७.४३ प्रतिशतबाट घटेर ८६.९९ प्रतिशतमा झरेको छ ।
आयातको दबाब कायम रहे पनि निर्यातमा देखिएको वृद्धिलाई अर्थविद्हरूले सकारात्मक संकेतका रूपमा लिएका छन् । फागुन मसान्तसम्म १ रुपैयाँको निर्यात बराबर ६.७५ रुपैयाँको आयात हुने गरेकोमा चैत मसान्तसम्म यो अनुपात घटेर ६.६९ रुपैयाँमा झरेको छ ।











