निर्माण ठेक्कामा ४ करोड घुस डिल, पुरातत्वका इन्जिनियर र सहकर्मी विरुद्ध भ्रष्टाचार दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्ण बहादुर श्रेष्ठ र सोही विभागकी सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार दायर गरेको छ।
आयोगका अनुसार पुरातत्व विभागअन्तर्गत भएका विभिन्न ठेक्का सम्झौतामा संलग्न रहँदै श्रेष्ठले निर्माण व्यवसायीसँग घुस माग गरी सहजीकरण गरिदिएको आरोप छ। सो क्रममा देउकला अधिकारीसँगको मिलेमतोमा निर्माण कम्पनी तथा संयुक्त उपक्रम (जेभी) हरूबाट देउकलाको बैंक खातामा पटक–पटक गरी कुल ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ जम्मा गराएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
उक्त रकम गैरकानुनी रूपमा आर्जन गरिएको भन्दै त्यसको स्रोत लुकाउन दुवैले संयुक्त रूपमा विभिन्न स्थानमा जग्गा खरिद, सुन किनबेच तथा अन्य व्यक्तिहरूलाई भुक्तानी गर्ने जस्ता गतिविधि गरेको अभियोग लगाइएको छ। आयोगका अनुसार नुवाकोट र काठमाडौंमा घरजग्गा खरिद, करिब ९९.६८ ग्राम सुन खरिद तथा विभिन्न व्यक्तिमार्फत नगद व्यवस्थापन गरी अवैध रकमको वास्तविक स्रोत लुकाउने प्रयास गरिएको पुष्टि भएको छ।
अनुसन्धानमा प्राप्त तथ्यअनुसार घुसबाट आर्जित रकमलाई वैध देखाउन बैंक खाता प्रयोग गर्ने, अन्य व्यक्तिहरूको प्रयोगमार्फत चेक सटही गरी नगद निकाल्ने तथा छद्म स्वामित्व सिर्जना गरी सम्पत्ति व्यवस्थापन गर्ने कार्य गरिएको आयोगको ठहर छ।
आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै घुसबाट आर्जित सम्पत्ति जफत गर्न पनि मागदाबी गरेको छ। साथै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत थप सजाय र सम्पत्ति असुलउपरको माग पनि गरिएको छ।
KYjEyP










