काठमाडौंबाट जथाभावी चल्ने सार्वजनिक सवारीमा कडाइ, तीन दिनभित्र नयाँ बसपार्कबाटै सञ्चालन अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी सञ्चालन भइरहेका यात्रुवाहक सवारीसाधनलाई व्यवस्थित गर्न कडा कदम अघि बढाएको छ। महानगरले लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ।
गएको चैत २५ गते नै सूचना जारी गर्दै बसपार्कभित्रबाट एकीकृत रूपमा सेवा सञ्चालन गर्न आग्रह गरिएको भए पनि केही यातायात कम्पनीले त्यसको बेवास्ता गरेका थिए। अब भने सूचनाको अटेर गर्ने कम्पनीहरूलाई निर्धारित समयभित्र अनिवार्य रूपमा एकीकृत प्रणालीमा आउन निर्देशन दिइएको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले तीन दिनभित्र सबै सवारीसाधनलाई बसपार्कभित्रैबाट सञ्चालनमा ल्याउन निर्देशन दिँदै अनुगमनलाई कडाइ गरिने बताइन्। यातायात व्यवस्थापन र सहरी सुरक्षालाई प्रभावकारी बनाउन महानगरले नेपाल प्रहरी सँग समन्वय गरी संयुक्त टोली परिचालन गर्ने तयारी गरेको छ।
यसै क्रममा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग मिलेर एकीकृत कार्यप्रणाली तयार पार्न र प्रभावकारी अनुगमन गर्न निर्देशन दिइएको छ। महानगरले बसपार्क व्यवस्थापनसँगै अन्य सहरी समस्यातर्फ पनि ध्यान केन्द्रित गरेको छ।
ठमेललगायतका क्षेत्रमा रात्रिकालीन व्यवसायबाट हुने ध्वनि प्रदूषण, स्पा केन्द्रहरूमा हुने अवाञ्छित गतिविधि तथा होस्टेल सञ्चालनमा देखिएका समस्याबारे उजुरी आएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिइन्। महानगर र नेपाल प्रहरीले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर संयुक्त रूपमा अनुगमन गर्ने र यसबाट व्यवस्थापनमा ठोस सुधार आउने अपेक्षा गरिएको छ।
अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षालाई सुदृढ बनाउन जनशक्तिभन्दा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्। त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक अनुशासन कायम गराउन महानगर र ट्राफिक प्रहरीबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।
प्रहरीको तथ्यांकअनुसार काठमाडौंबाट दैनिक औसत ७०० सार्वजनिक सवारीसाधन बाहिरिने गरेका छन्। तीमध्ये करिब ५० प्रतिशत अर्थात् झन्डै ३५० सवारीसाधनले बसपार्क बाहिरै पार्किङ गर्ने र यात्रु चढाउने–ओराल्ने गरेको पाइएको छ। हाल नयाँ बसपार्कबाट दैनिक करिब ३४० सवारीसाधन मात्र औपचारिक रूपमा सञ्चालनमा छन्।
१६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा एकैपटक ७५० सवारीसाधन व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ। महानगरले यस क्षमताको पूर्ण उपयोग गर्दै सडकको चाप घटाउने र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।











