अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब तान्दै

९ बैशाख २०८३, बुधबार १०:५३

काठमाडौँ ।  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले फेरि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले १६० दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो ।

पछिल्लो समय कर्जाको माग उल्लेख्य रूपमा बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता पर्याप्त रहेको छ । यही कारणले वित्तीय संस्थाहरू करिब ३ प्रतिशतको हाराहारी ब्याजदरमै केन्द्रीय बैंकलाई रकम राख्न तयार देखिएका छन् । बजारमा अधिक तरलता रहँदा ब्याजदरमा असन्तुलन आउन नदिन तथा मौद्रिक व्यवस्थापन सन्तुलित राख्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ ।

केन्द्रीय बैंकले जारी गर्ने बोलकबोल प्रक्रियामा सहभागी हुन नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था अन्तर्गत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र अनुमति दिइएको छ । बोलकबोल अनलाइन प्रणालीमार्फत गरिनेछ र ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ ।

निक्षेप संकलन उपकरणअन्तर्गत रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेका ब्याजदरमध्ये सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राख्दै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । यस प्रक्रियामा न्यूनतम १० करोड रुपैयाँदेखि बोल गर्न सकिनेछ भने अधिकतम रकम ५ करोड रुपैयाँका गुणकमा प्रस्ताव गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*