काठमाडौं । बालेन सरकारमा गृहमन्त्री बनेको सुधन गुरुङले आफ्नो पदबाट आज राजीनामा दिएका छन्। पछिल्लो समय उनको शेयर लगायतका विषयमा चौतर्फी घेराबन्दीमा परेपछि उनले आज पदबाट राजीनामा दिएका हुन्।
उनले आफ्नो पदभन्दा ठूलो नैतिकता भएको बताउँदै फेसबूकबाटै राजीनामा दिएको पुष्टी गरेका छन्। उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र कुनै स्वार्थ नदेखियोस् भनेर राजीनामा दिएको बताएका छन्।
उनले आफ्नो नैतिक जिम्मेवारी बहन गर्ने बताउँदै रामराज्यको चाहना राख्नेहरूले त्याग, नैतिकता र साहस देखाउनु पर्ने बताएका छन्। उनले मिडियाकर्मीहरूले स्वीट शेयर लिएको विषयमा पनि प्रश्न उठाएका छन्।
राजीनामा दिंदै सुदन गुरुङले यस्तो भनेका छन्। ‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.’