निरन्तर ओरालो यात्रा पुँजी बजारः हैरानीमा लगानीकर्ता, किन डुब्दै छ लगानी ?

९ बैशाख २०८३, बुधबार १५:०५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दिनभर उतारचढाव देखिए पनि समग्रमा बजार पुनः ओरालो लागेको छ । कारोबार सुरु भएदेखि नै दबाबमा रहेको बजार अन्ततः ‘राताम्य’ अवस्थामै बन्द भएको हो । लगातारको गिरावटका कारण समग्र कारोबार वातावरण निराशाजनक बनेको छ भने लगानीकर्ताको सम्पत्ति मूल्यमा समेत उल्लेख्य गिरावट आएको छ ।

बजार निरन्तर कमजोर बन्दै जाँदा लगानीकर्तामा अनिश्चितता र त्रासको अवस्था बढ्दै गएको देखिन्छ। विशेषगरी छोटो अवधिका लगानीकर्ताले जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिक्री चाप बढाउँदा बजारमा थप दबाब सिर्जना भएको छ। यसै कारण अधिकांश समूहगत सूचकहरू कमजोर देखिँदा कारोबार रकम पनि अपेक्षित रूपमा बढ्न सकेको छैन ।

यसका साथै नियामक निकायको कडाइ हुने आशंका, नीतिगत स्पष्टताको कमी तथा पछिल्ला दिनमा केही व्यवसायी र लगानीकर्तासम्बन्धी अनुसन्धान र पक्राउका समाचारहरूले पनि बजार मनोविज्ञानमा नकारात्मक प्रभाव पारेका छन्। यी घटनाक्रमले लगानीकर्ताको विश्वास कमजोर बनाएको विश्लेषण गरिएको छ, जसको प्रत्यक्ष असर ठूला लगानीकर्ताको निष्क्रियता र केहीको बजारबाट बाहिरिने प्रवृत्तिमा देखिएको छ।

विश्लेषकहरूका अनुसार हालको बजार दबाब दीर्घकालीन भन्दा पनि अस्थायी प्रकृतिको हुन सक्ने भए पनि लगानीकर्ताको कमजोर मनोविज्ञानका कारण सुधार प्रक्रिया सुस्त बनेको हो। ब्याजदरमा आएको गिरावट, वित्तीय प्रणालीको स्थायित्व र अर्थतन्त्रका आधारभूत सूचकहरूमा देखिएको सुधारले भविष्यमा पुँजीबजारलाई बलियो आधार दिने अपेक्षा गरिएको छ। तर तत्कालका लागि बजारमा स्थिरता र विश्वास कायम गर्न स्पष्ट नीतिगत दिशा अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९५ अकंले घटेर २८०४.१७ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचक घटेको छ भने ५ उपसूचकमा मात्रै हरियाली आएको छ। बुधबार १२१ कम्पनीको शेयर मूल्य घटेको छ भने १३८ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*