सीमा क्षेत्रमा कडाइ गरेर जनतालाई दुःख नदिन संसदीय समितिको निर्देशन

९ बैशाख २०८३, बुधबार १५:५५

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइँदै आएको दुःख तत्काल अन्त्य गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले भारतबाट ल्याइने एक सय रुपैयाँभन्दा बढी मूल्यका घरायसी सामानमा समेत भन्सार लगाउने व्यवस्थाले नागरिकलाई अनावश्यक सास्ती दिएको निष्कर्ष निकाल्दै उक्त व्यवस्था फिर्ता लिन सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति कृष्णप्रसाद पौडेलले सीमा क्षेत्रका बासिन्दाको दैनिक जीवनयापन र आधारभूत आवश्यकतालाई बेवास्ता गर्दै भन्सारमा कडाइ गरिएको बताएका छन् । उनले जनप्रतिनिधिको हैसियतले नागरिकको दैनिकी र आवश्यकता प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सीमावर्ती क्षेत्रका नागरिकले जीविकोपार्जनका लागि भारतबाट सस्तोमा सामान ल्याउने प्रचलनमाथि अनावश्यक प्रतिबन्ध लगाइएको बताए ।

बैठकमा सहभागी सदस्यहरूले सीमा क्षेत्रमा उत्पन्न समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै हालको व्यवस्था अव्यवहारिक भएको बताएका थिए । उनीहरूको सुझाव र रायका आधारमा समितिले सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न र भन्सारका नाममा जनतालाई दिइँदै आएको दुःख तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको सभापति पौडेलले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*