विद्यालयलाई प्रविधिमैत्री बनाउने नाममा भ्रष्टाचार, प्रधानाध्यापककै मिलेमतोमा १० लाख हिनामिना

१० बैशाख २०८३, बिहीबार ०७:५६

काठमाडौं । रूकुम (पश्चिम)को मुसिकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा ठूलो रकम हिनामिना भएको प्रकरणमा अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अनुसन्धानबाट आर्थिक वर्ष २०७८/०७९ मा प्रविधिमैत्री कक्षा निर्माणका लागि खरीद गरिएको भनिएका विभिन्न सामग्रीहरू (सर्भर, प्रोजेक्टर, ब्याट्री लगायत) विद्यालयमा आपूर्ति नै नगरी करिब ४ लाख ८८ हजार रुपैयाँ हिनामिना गरिएको पाइएको छ। साथै आईसीटी सम्बन्धी तालिम सञ्चालन नगरी झुट्टा बिल बनाएर थप २ लाख २० हजार रुपैयाँ भुक्तानी लिइएको देखिएको छ।

त्यसैगरी विद्यालयको आन्तरिक आम्दानी र विद्यार्थीबाट उठाइएको ५४ हजार रुपैयाँ बैंकमा दाखिला नगरिएको, वेरुजु फछ्र्यौटका नाममा रकम घुमाएर २ लाख १२ हजार रुपैयाँ हिनामिना गरिएको र बिना उद्देश्य १ लाख रुपैयाँ झिकिएको समेत फेला परेको छ। यसरी कुल १० लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा खुलेको छ।

यस प्रकरणमा तत्कालीन प्रधानाध्यापक हरि प्रसाद खनाल र लेखापाल ठक बहादुर बुढाथोकीलाई मुख्य अभियुक्त बनाउँदै १० लाख ७५ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरिएको छ।

साथै कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत के.सी, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का, सूचना प्रविधि अधिकृत गोपाल ओली र आपूर्तिकर्ता डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वल्र्ड तुलसीपुर दाङका प्रोपाइटर शिव प्रसाद श्रेष्ठ विरुद्ध पनि मुद्दा चलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*